१७ मंसिर २०८२, सोमबार

नोबेल पुरस्कार के हो, कसले दिन्छ, यसलाई किन विशेष मानिन्छ?


विश्वव्यापी रुपमा प्रदान गरिने पुरस्कारमध्ये नोबेल पुरस्कार एक चर्चित र एकदमै महत्वपूर्ण पुरस्कार हो ।

नोबेल शान्ति पुरस्कार “देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने” व्यक्तिलाई प्रदान गरिन्छ।

कुनकुन विधामा दिइन्छ नोबेल पुरस्कार?

प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ।

विगत १२ महिनामा “मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका” व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ।

सन् २०२२ सम्म ६३ पटक नोबेल पुरस्कार महिलाहरूले पाएका छन्।

फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एकमात्र महिला वैज्ञानिक हुन्।

उनले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यस पुरस्कार जितेकी थिइन्।

त्यसको अर्थ सन् २०२२ सम्म नोबेल पुरस्कार पाउने महिलाको कुल सङ्ख्या ६२ थियो।

 

शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन दर्ता गर्छन्।

नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।

नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने त्यो घोषणा हुँदैन र त्यसको पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ।

कहाँ हुन्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडनमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

विजेताहरूले के पाउँछन् त?

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले निम्नलिखित कुरा पाउँछन् –

  • एउटा नोबेल डिप्लोमा, प्रत्येकमा मौलिक कला हुन्छ
  • एउटा नोबेल पदक, जसका बेग्लाबेग्लै ढाँचा हुन्छन्
  • नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर)। यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २००९ मा “अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले” नोबेल शान्ति पुरस्कार पाएका थिए।

शान्ति पुरस्कार पाएको सुनेपछि राष्ट्रपति ओबामाले आफू “आश्चर्यचकित र अत्यन्त अनुगृहीत” भएको र त्यसलाई आफूले “काम गर्न आह्वान”का रूपमा लिने बताएका थिए।

तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो। किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्। बीबीसी