९ असार २०८२, आईतवार

भाग्न खोज्दा समुद्रमा डुङ्गा डुबेर २३ को मृत्यु, यसरी भएको थियो दुर्घटना


म्यान्मारको रखाइन प्रान्तमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ।

मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको थियो।त्यसपछि चालकहरू डुङ्गाबाट भागेका थिए। पछि डुङ्गा समुद्रमा डुबेको बीबीसीले जनाएको छ ।

प्रत्येक वर्ष हजारौँ रोहिन्ज्याहरू भागेर मलेशिया वा इन्डोनेशियातिर जान समुद्रमा खतरनाक यात्रा गर्छन्।

अहिले ज्यान गुमाउनेमध्ये १३ महिला र १० पुरुष भएको बीबीसीमा उल्लेख छ ।

म्यान्मारको सेनाले ‘जातीय नरसंहार’ को अभियान थालेपछि धेरै रोहिन्ज्याहरू सन् २०१७ मा म्यान्मारबाट भागेर बाङ्ग्लादेश पुगेका छन् ।

बताइएअनुसार  समुद्रमा आएको एउटा ठूलो छाल डुङ्गामा ठोकिएको थियो। त्यतिबेला डुङ्गा रखाइन प्रान्तको राजधानी सिट्वेनजिकै थियो।

मलेशिया पुर्‍याइदिन आफूहरूले मानवतस्करहरूलाई प्रतिव्यक्ति ४,००० डलर तिरेको उनीहरूले बताएका छन्। तर डुङ्गा डुब्न थालेपछि डुङ्गामा भएका तस्करहरू भागेका थिए।