नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार विभिन्न माग सहित चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत ज्ञापन पत्र पठाएको हो ।
महासंघका केन्द्रीय उपाध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापन पत्र बुझाएको हो ।
सरकार तथा मातहतका निकायहरु एवं नेपाल राष्ट्र बैंकका अब्यवहारिक नीतिका कारण अहिले उद्योगी व्यवसायीका साथै समग्र अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दु बरालद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
एकातिर विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ को माहमारी र युक्रेन–रुस युद्धको प्रभावले अर्थतन्त्र थलिएको छ भने अर्कोतर्फ सरकारले लिएको नीति नियमले थप जटिल बनाउँदै लगेको ज्ञापनपत्रमा उल्लेख छ ।
थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम ब्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने भन्दै राज्यका निकायहरुबाट वेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी ब्यवसायी ब्यवसाय छोडेर पलायन हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएको प्रति गम्भिर ध्यानकर्षण भएको जनाईएको छ ।
नीतिगत ब्यवस्था एवं अवरोधपूर्ण कार्यमा सुधार ल्याई देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलगायत राज्यका सरोकारवाला निकायहरुले उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम चाल्नुपर्ने माग गरिएको छ । अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम नचाले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रमहरु सहित आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
व्यवसाय संचालन गर्दा उद्योगी व्यवसायीहरुलाई आफु संरक्षित भएको महसुश गराउन माग गर्दै ज्ञापन पत्रमा चालु पुँजी कर्जा निर्देशिकामा पुर्नविचार गर्नुका साथै चर्को ब्याजदरलाई घटाउन माग गरिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दु बराल, वरिष्ठ उपाध्यक्ष थिर प्रसाद धिताल (कृष्ण), केन्द्रिय सचिवालय सदस्य शंकर नेपाल, केन्द्रीय सदस्य दुर्गा प्रसाद गौतम, जिल्ला कोषाध्यक्ष मुकुन्द प्रसाद गौतम, भरतपुर महानगर संयोजक ईश्वर राज भण्डारी, सचिव गौरव पौडेल, सदस्य बलराम सिटौलालगायतको सहभागिता रहेको थियो ।