
बढैयाताल गाउँपालिका–७ फूलपुरका किसान ईश्वरीप्रसाद थारुले बेमौसमी तरकारीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
असोजदेखि जेठसम्म चार बिघाह जमिनमा आधुनिक प्रविधिमार्फत बेमौसमी तरकारीखेती गरेर उनले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका हुन् ।
सरसठ्ठी वर्षीय थारु २०४६ सालदेखि कृषि पेसामा सक्रिय छन् । उनले परम्परागत शैलीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै बेमौसमी तरकारी उत्पादन गर्दै आएका हुन् । उत्पादन भएका माटर, काउली, बन्दा, काँक्रा, फर्सी, तरबुजा, लौकालगायत बेमौसमी तरकारी स्थानीय बजारमा महँगोमा बिक्री हुने भएकाले आम्दानी प्रशस्त भइरहेको उनले बताए ।
थारुले जैविक मल, प्लास्टिक मल्चिङ प्रविधि, उन्नत बीउ र कृषि शाखाबाट प्राप्त प्राविधिक सहयोगमार्फत उत्पादन बढाउँदै आएकाे बताए। “व्यापारीहरू बारीमा आउँछन् र थोकमा किनेर लैजानन्छन् । यसले बजारीकरणको समस्या पनि छैन”, उनले भने ।
उमेर होइन, आत्मविश्वास महत्त्वपूर्ण विषय भएकाले काम गर्न सधैँ उत्साहित हुने थारुको भनाइ छ । “सरकारले थप तालिम, अनुदान र औजार उपलब्ध गराए कृषि पेसाप्रति किसानको आकर्षण बढ्ने छ”, उनले भने ।