
देश गहिरो संकटतर्फ धकेलिने अवस्थामा रहेको बेलामा अन्ततः प्रमुख दलहरू सहमतितर्फ उन्मुख भएका छन्। दिनभर चलिरहेको वार्ताले विफलतामात्र देखाइरहेको बेला संकटकाल लगाउने सम्भावना प्रबल बनेको थियो। तर अन्तिम क्षणमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति जुटेपछि संकट तात्कालिक रूपमा टरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल संकटकाल घोषणा गर्ने दबाबमा रहेका बेला आन्दोलनकारी युवाले शीतलनिवास घेर्ने चेतावनी दिएका थिए। त्यसपछि पौडेलले प्रमुख दलका नेताहरूसँग तत्काल कदम चाल्नुपर्ने निष्कर्ष निकालेका हुन्।
स्रोतका अनुसार अब प्रतिनिधिसभा विघटनको घोषणा र त्यसपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ। यससँगै राजनीतिक निकास संसद् मार्फत नभई नयाँ सरकार र प्रतिनिधिसभा विघटनबाट खोजिएको स्पष्ट भएको छ।
सैन्य नेतृत्वले समेत संकटकालको सम्भावनाबारे चेतावनी दिँदै दबाब बढाएको अवस्थामा आएको यो सहमति, राजनीतिक तहले अन्तिम घडीमा संकट व्यवस्थापन गर्न सफल भएको सन्देशका रूपमा लिइएको छ।