राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा सांसद डा. तोसिमा कार्कीले पार्टीभित्रको निर्णय प्रक्रिया र विधि पालनामा जोड दिएकी छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा सह–महामन्त्री चयनको प्रस्ताव आयपश्चात उनले प्रस्तावित नामको होइन, प्रक्रिया र विधिको विषयमा प्रश्न उठाएको स्पष्ट पारेकी छन्।
उनका अनुसार सह–महामन्त्री पद रिक्त रहँदा त्यसबारे एजेन्डा नै नभएको बैठकमा अचानक निर्णय प्रस्ताव आउनु उपयुक्त होइन। उनले पद पूर्तिका लागि इच्छुक तथा योग्य महिला नेतृहरूबीच प्रतिस्पर्धा गराई, विधि र गृहकार्य पूरा गरेर मात्र नियुक्ति गर्नुपर्ने धारणा राखेकी छन्।
फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै डा. कार्कीले बैठकभित्रको विस्तृत बहस बाहिर ल्याउनु सधैं आवश्यक नहुने बताइन्। तर, केही सञ्चार माध्यममा आएको समाचारले आफूले व्यक्तिको विरोध गरेको जस्तो बुझाइ हुन सक्ने भएकाले स्पष्टिकरण दिन बाध्य भएको उनको भनाइ छ।
उनले जोड दिँदै भनिन्— “पार्टी विधिपूर्वक चल्नु र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनु मेरो प्राथमिकता हो, पदका लागि व्यक्तिगत दाबी भने छैन।”
हेर्नुहोस् उनको फेसबुक पोस्ट
केन्द्रिय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ व्यक्तिको विरोध गरेको होईन। साथै, रिक्त सह-महामन्त्रीमा मेरो दावी होईन।
हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौँ। पार्टीले रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रुपले इच्छुक-योग्य महिलाहरुबाट नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो।
केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी छैन। पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ।
केहि संचार माध्यम र सामाजिक सन्जालमा मलाई जोडेर खबरहरु जसरी आयो, त्यसमा मैले पार्टी पंक्ति र आम शुभेच्छुकहरुलाई स्पष्ट पार्नुपर्छ भन्ने लाग्छ। मैले सहमहामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन। केन्द्रीय समितिमा एजेन्डा अनुरुप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो। र राम्रो कुरो, यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो र एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ। यसकारण पनि मैले गर्वका साथ भन्ने गरेको छु, राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो।
कृपया कसैले पनि गलत भास्य बनाएर मलाई पद-लोलुप जस्तो नदेखाइदिनु होला। यो सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन। म आम जनता समक्ष पुगेर चुनाव लडेर सांसद निर्वाचित भएको हुँ। पार्टी भित्र पनि अधिवेशनमा पदाधिकारीहरु निर्वाचित भएरै आउनुपर्छ भन्ने नीति/निर्णय स्थापित गर्न विधान संशोधनमा मैले खेलेको भूमिकाबारे यहाँहरु जानकार नै हुनुहुन्छ। त्यसैले मैले कुनै पदमा दावी गर्नुपरे म चुनाव मार्फत नै आउनेछु। राष्ट्रिय स्वतन्त्र पार्टीलाई यहाँहरुले गरिरहनुभएको माया, शुभेक्षा र शुभाशिर्वादको लागि सधैँ आभारी छु। धन्यवाद।