बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ७ वटाको बढेको छ । चारवटा बैंकको ब्याजदर भने पुरानै कायम छ ।
बैंकहरुले साउदेखि ब्याजदरमा गरेको भद्र सहमति तोडिएसँगै भदौयता बैंकहरुको फरक-फरक ब्याजदर हुने गरेको छ । भदौयता बैंकहरुले आफू अनुकूल ब्याजदर निर्धारण गर्दै आएका छन् ।
बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटी बढी गर्ने गरेका छन् । कतिपय बैंकले त्यही अनुसार नै ब्याजदर घटी तथा बढी गरेका छन् । केहीको भने यथावत् रहेको छ ।
बैंकको ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज प्राइम कमर्सियल बैंकले दिने भएको छ । बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ ।
नबिल बैंकले मुद्दती निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ । भदौमा बैंकको ब्याजदर १०.४९ प्रतिशत थियो । असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । प्रभु, एनएमबी, माछापुच्छ्रे र सिद्धार्थ बैंकले यथावत् राखेका छन् । एनआईसी एसिया र कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छैनन् ।