७ पुष २०८१, आईतवार

मौद्रिक नीतिले लगानीकर्ता निराश, निरन्तर घट्यो बजार


काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन साउन ७ गते सेयर बजारमा उछाल आएको थियो । उक्त दिन ६३.२५ अंकले बढ्दै नेप्से २२२७.१६ को बिन्दुमा उक्लिएको थियो । उक्त दिन कारोबार रकम पनि चार अर्ब माथि भएको थियो ।

तर, त्यसयता सेयर बजारमा निरन्तर निराशा देखिएको छ । मौद्रिक नीति जारी भएको भोलिपल्ट सोमबारदेखि सेयर बजार निरन्तर राताम्मे बन्न पुग्यो । सो चार दिनको अवधिमा नेप्से एक सय अंकले घटेको छ ।

आइतबार २२२७.१६ को बिन्दुमा पुगेको नेप्से बिहीबारसम्म आउँदा १००.६७ अंकले झर्दै २१२६.४८ को बिन्दुमा ओर्लिएको छ । योबीचमा कारोबार रकम पनि निकै घटेको देखिन्छ । आइतबार चार अर्ब माथिको कारोबार भएको बजारमा बिहीबारको दिन दुई अर्बमा सीमित बन्यो ।

पछिल्ला तीन दिनमा किसान लघुवित्तको शेयर मूल्य २७ प्रतिशतले बढेको थियो तर, बिहीबारको बजारमा भने ८ दशमलब ६८ प्रतिशतले घटेको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक दुई दशमलब ६५ प्रतिशत घटेको छ ।

त्यसैगरी, वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ ।

यस पटकको मौद्रिक नीतिले पुँजीबजारका सन्दर्भमा खास कुनै सम्बोधन गरेको देखिन्न । शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने बताइएपनि कस्तो पुनरावलोकन स्पष्ट छैन । सेयर बजारको सम्बन्धमा देखिएका अन्य समस्याका बारेमा पनि मौद्रिक नीति मौन छ । मौद्रिक नीतिले सेयर बजारलाई उत्साहित बनाउने गरी कार्यक्रम ल्याउने अपेक्षा गरिएका बेला कुनै पनि गुन्जायस नदेखिएपछि लगानीकर्तामा निराशा छाएको मान्न सकिन्छ ।