७ पुष २०८१, आईतवार

स्थिर रहला नेप्सेको वृद्धि ?


बुधबार सेयर बजारमा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ । बुधबार ४१.०६ अंकले नेप्से परिसूचक बढेर २०६०.९१ विन्दुमाथि आइपुगेको छ ।

यसअघि साउन सातमा आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भए यता मंगलबारसम्म नेप्से परिसूचक २०९ अंकले घटेको थियो । यसअवधिसम्म निरन्तर घटेको सेयर बजारमा बुधबार भने उच्च अंकको वृद्धि देखिएको हो । बुधबार सेन्सेटिभ सूचक पनि ७.९४ अंकले बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण निराशाजनक सार्वजनिक भएपछि केही दिनअघि सबैभन्दा बैकिङ समूह धेरै प्रभावित भएको थियो ।

बुधबार भने वाणिज्य बैंक ०.९६ प्रतिशत, विकास बैंक २.५१ प्रतिशत र फाइनान्स समूह ३.५० प्रतिशतले बढेको छ । म्युचुअल फन्डबाहेक सबै समूह सकारात्मक देखिएका छन् ।

बजारमा उच्च वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने २ अर्ब बराबरको पनि हुन सकेन । बुधबार दिनभरमा १ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय पुँजी बजार विष्लेशक मुक्ति अर्यालका अनुसार, बुधबार शेयर बजारमा वृद्धि आएर बाउन्स ब्याक भएको बताए । ‘बजार घटेर आजित भइसकेका लगानीकर्ताहरूका लागि यो बाउन्स ब्याक हो,’ उनले भने ।

उनले बजार निकै नै घटेको अवस्थामा अहिले बाउन्स ब्याक भएपनि यसले निरन्ता पाउने या नपाउने भन्ने अवस्था नरहेको बताए ।

लगानीकर्ताहरूले अब विस्तारै बजार अगाडि बढ्ने अपेक्षा गर्दै आएपनि बारम्बार सरकारको नीतिका कारण निराश हुनु परेको गुनासो गर्दै आएका छन् ।

लगानीकर्ताहरूका मागमा राष्ट्र बैंक सकारात्मक नबन्दा त्यसको नकारात्मक प्रभाव शेयर बजारमा देखिएको गुनासो लगानीकर्ताहरूको छ ।
नीतिमा ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत हुने बनाइएको छ । विगतमा २५ लाख रुपैयाँसम्मको ऋण मात्रै १०० प्रतिशत जोखिम भारमा पाइन्थ्यो ।

राष्ट्र बैंकले यस्तो नीति ल्याएपछि लगानीकर्ताहरू थप निरुत्साहित भएका हुन् । मौद्रिक नीति आएदेखि नै सेयर बजारमा निरन्तरको गिरावट आइरहेको थियो ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ मौद्रिक नीतिमा समावेश यही व्यवस्थाका कारण लगानीकर्ता उत्साहित भएका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको दिन बजार बढेको थियो । तर भोलिपल्टदेखि निरन्तर बजार घट्न पुग्यो ।

मौद्रिक नीतिपछि गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार र घर कर्जासम्बन्धी नीतिमा आएको बुँदालाई प्रष्ट पारे । त्यसपछि बजार निरन्तर घट्न पुग्यो ।

लगानीकर्ताहरूले निर्देशिकाार्फत सेयर बजारसम्बन्धी व्यवस्था परिमार्जन हुने अपेक्षा समेत राखे । तर राष्ट्र बैंकले त्यसलाई पनि सम्बोधन गरेन । यसपछि बजार निरन्तर ओरालो लागेको थियो ।