९ पुष २०८१, मंगलवार

मर्ज भएका बैंकहरुको नाफा एक अर्बभन्दा बढी


पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सामेल भएर ७ बैंकमा सीमित भए ।

नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक, कुमारी र एनसीसी बैंक, लक्ष्मी र सनराइज बैंकबीच मर्जर तथा एक्विजिशन सम्पन्न भयो ।

मर्जर पश्चात् अधिकांश बैंकहरुले बिजनेश ग्रोथमा फड्को मारेको देखिन्छ । यद्यपी मर्जरमा सामेल भएका केही बैंकहरुको भने खासै सिनर्जी नआएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । जसमध्ये मर्जरमा सामेल भएका ७ बैंकले भने २ महिनाको अवधिमा साढे ८ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार मर्जर भएका ७ बैंकले ८ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको नाफा गरेका हुन् । जुन कूल नाफाको ५२ प्रतिशत हिस्सा हुन आउँछ ।

साथै, दुई महिनाको अवधिमा १ अर्बभन्दा बढी नाफा गर्ने बैंकहरु पनि मर्जरमा सामेल भएका संस्था नै छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका हुन् ।

भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ ।

यस्तै, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख रुपैयाँ र प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ बराबर खुद नाफा गरेका छन् ।