७ पुष २०८१, आईतवार

वर्ल्डलिंकमा भित्रियो डेढ अर्ब विदेशी लगानी


निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्पनीले विदेशी लगानीकर्ता भित्र्याएको छ। वर्ल्डलिंकले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डबाट करिब एक अर्ब ४१ करोड (एक करोड युरो) रूपैयाँ लगानी ल्याएको हो। वर्ल्डलिंक देशकै अग्रणी आइसिटी कम्पनी हो।

फिनफन्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ। नेपालमा करिब आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट बाहिर रहेको अवस्थामा फाइबर नेटवर्क विस्तारले इन्टरनेट बिस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ। विश्वस्तरीय डेटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुग्ने दाबी कम्पनीको छ।

फिनल्यान्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वल्र्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफन्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरे।

फिनफन्डको लगानीले नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्न सहयोग वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए। ‘फाइबर नेटवर्क बिस्तार गरेर तथा विश्व–स्तरीय डाटा सेन्टर स्थापना गरेर सेवा दिन्छौं,’ अग्रवालले भने, ‘शहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेद हटाउन र देशभर डिजिटल रूपान्तरण गर्न सहयोग पुग्नेछ।’

डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको डिजिटल इन्फ्रास्ट्रक्चर प्रमुख कुट्टी किल्पेलेइनले बताए। ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा कार्य गर्ने उनले बताए।

फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वल्र्डलिंकको सहकार्यले ग्राहकका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने विश्वास लिइएको छ। डाटा सेन्टर क्षेत्रमा वल्र्डलिंकको बिस्तारले ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने दाबी कम्पनीको छ। फिनफन्ड डेटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वल्र्डलिंकलाई सहयोग गर्न तत्पर रहेको किल्पेलेइनले जोड दिए।

वर्ल्डलिंक देशकै सबैभन्दा ठूलो नेटवर्क प्रदायक कम्पनी हो। यसले करिब पाँच हजारभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्दछ। कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी रहेको जनाएको छ। नौ लाखभन्दा बढी घरपरिवारमा वल्र्डलिंकको पहुँच रहेको छ। कम्पनीले हाल नेपालको ७७ जिल्लामध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ।

वर्ल्डलिंकले विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायकमध्येको पहिलो कम्पनी भएको जनाएको छ। वर्ल्डलिंकले यसअघि ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फन्डमार्फत विदेशी लगानी ल्याएको थियो। वर्ल्डलिंकले नेपाल दूरसञ्चारबाट बिहीबार मात्रै इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको रूपमा २५ वर्षको लागि इजाजतपत्र नवीकरण गरेको थियो।

कम्पनी सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित हुँदै आएको छ। वर्ल्डलिंकले एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पोरेट एक्सिलेन्सी आइएसपी अवार्डलगायतका अवार्ड प्राप्त गरिसकेको छ। वर्ल्डलिंकमा लगानी गर्ने कम्पनी फिनल्यान्ड सरकारको अधीनमा रहेको कम्पनी हो।  नागरिक दैनिकमा खबर छ