१२ पुष २०८१, शुक्रबार

पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई कारबाही गर्दै बीमा प्राधिकरण


बीमा प्राधिकरणले पटक–पटक समय दिँदा पनि पुँजी नबढाउने बीमा कम्पनीहरूलाई कारबाही गर्ने भएको छ । पुँजी पुर्याउन नसक्ने कम्पनीलाई कारबाहीका लागि प्राधिकरणले छलफल चलाइरहेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार पटक–पटक पुँजी वृद्धिका लागि समय थप्दा पनि केही कम्पनीहरूले नियामक निकायलाई अटेर गरेका छन् । पुँजी नबढाउने कम्पनीलाई व्यवसाय रोक्का गर्नेदेखि ‘फोर्स मर्जर’मा लैजानेसम्मको विषयमा छलफल भइरहेको पौडेलले बताए ।

प्राधिकरणले सुरुमा एक वर्षभित्र पुँजी बढाउनका लागि बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । कम्पनीहरूकै आग्रहमा पछि तीन महिना समय थपिएको थियो । समय थप्दा पनि पुँजी बढाउन आनाकानी गर्ने कम्पनीलाई कारबाही गर्ने तयारीमा प्राधिकरण छ । कार्यकारी निर्देशक पौडेलले अब पनि कम्पनीहरूलाई समय थप्न नसकिने भन्दै कारबाही गर्नेतर्फ अगाडि बढ्ने सोचिएको जानकारी दिए ।

हाल चुक्ता पुँजी नपुर्याउनेमा प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स छन् । यी कम्पनीलाई कारबाहीको तयारी भए पनि के कारबाही गर्ने भन्नेबारे टुंगो लागिनसकेको प्रवक्ता पौडेलले बताए । प्राधिकरणले पुँजी नपुर्याउने यी दुई कम्पनीलाई फोर्स मर्जरमा लैजाने सोच बनाएको छ । यसबारे छलफल भइरहेको पौडेलले जानकारी दिए । मर्ज भएर पनि पुँजी नपुगेका कम्पनीलाई भने प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिनेछ । प्राधिकरणले त्यस्ता कम्पनीहरूलाई ३० प्रतिशतसम्म हकप्रद जारी गर्न दिने व्यवस्था गर्न लागेको छ ।

पुँजी कायम नभएका कम्पनीलाई मर्जरका लागि बाध्य पार्ने सोच प्राधिकरणले बनाएको कार्यकारी निर्देशक पौडेलले बताए । पुँजी नपु¥याएका प्रभु र नेपाल इन्स्योरेन्सले पुँजी पुर्याउनका लागि काम गरिरहेको जवाफ प्राधिकरणलाई दिइरहेका छन् । पुँजी थप गर्नका लागि प्रभुले विदेशी साझेदार ल्याउने प्रयास गरेको जानकारी गराएको छ भने नेपाल इन्स्योरेन्सले आफ्नो अचल सम्पत्ति (जग्गा) बेचेर पुँजी थप गर्ने प्राधिकरणलाई जवाफ दिएको छ । यही कारण अहिले प्राधिकरण दुई कम्पनीले पुँजी बढाउँछन् कि भनेर बाटो हेरेर बसिरहेको छ । उनीहरूलाई साउन महिनासम्म समय दिएर हेर्ने मनसायमा प्राधिकरणको छ । ‘छलफल गरिरहेका छौं । साउनभित्रैमा ती कम्पनीहरूबारे टुंगो लाग्नेछ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी अहिले १ अर्ब ३७ करोडमात्रै छ । कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउन छिट्टै १ अर्ब १२ करोड ३९ लाख जुटाउनु पर्नेछ । यसैगरी नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४३ करोड छ । प्राधिकरणको निर्देशनअनुसार साढे २ करोड पुर्याउन कम्पनीलाई अझै १ अर्ब ६ करोड जुटाउनु पर्नेछ ।

पुँजी बढाउनका लागि प्रभुले अजोड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरे पनि यो सफल भएन । अजोडले सम्झौता तोड्दै युनाइटेड इन्स्योरेन्ससँग मर्जर गरेपछि प्रभुले अरू कम्पनीसँग मर्जर गरेन । यसपछि पुँजी पुर्याउन विदेशी साझेदार ल्याउने प्रस्ताव प्रभुले प्राधिकरणलाई गरेको थियो । प्राधिकरणले यसका लागि साउन १५ गतेसम्म समय दिएकोमा यो समय घर्किसकेको छ ।

प्राधिकरणले २०७८ चैत १० मा एक वर्ष समय दिएर जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवनलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । समय कम दिएको गुनासो आएपछि प्राधिकरण लचक बनेर तीन महिना थपिदिएको थियो । यो समय सकिँदा समेत केही कम्पनीले पुँजी पुर्याउन नसकेका हुन् ।