२८ भाद्र २०८२, शुक्रबार

वैदेशिक रोजगारसम्बन्धी तालिमका नाममा ठगी, कारबाही थाल्दै विभाग


काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिमको नाममा ठगी बढ्न थालेपछि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ । विभागले अनुमति लिएका तालिम प्रदायक संस्थाहरुमाथि छानबिन सुरु गरेको छ ।

तालिम दिने प्रशिक्षक योग्य नै नभई तालिम सञ्चालन गरेको र तालिमका नाम मोटो रकम असुली गरेको गुनासोपछि विभागले छानबिन सुरु गरेको हो । विभागका अनुसार पहिलो चरणमा तालिम प्रदायक संस्थाहरुसँग कर्मचारी विवरण माग गरिएको छ ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तालिम प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ (अनुसूची २) मा उल्लेख भएअनुसार मापदण्ड पूरा नगरेको पाइएपछि छानबिन थालिएको हो । मापदण्डअनुसार कर्मचारी नभए र तालिम सञ्चालन गरेको पाइए कारबाही हुने उप्रेतीले जनाए ।

विभागले तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाउन पनि भनेको छ । अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही हुने उप्रेतीले जनाए ।

ताजा समाचार