१३ पुष २०८१, शनिबार

भीआरएस सुविधा ल्याउँदै नबिल बैंक, उच्च तहका कर्मचारीसमेत कटौती गरिने


मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो ।

यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले फेरी भीआरएस ल्याउने तयारीमा रहेको बताए । साविक नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभेपछि नबिल बैंकले तेस्रो पटक भीआरएस सुविधा जारी गर्ने तयारी थालेको हो ।

नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।

अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए ।

उनका अनुसार नबिल बैंकमा ओभर स्टाफ नभएपनि टप हेडिङमा काँटछाँट गर्ने तयारी गरिरहेको छ । नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।