१३ पुष २०८१, शनिबार

किन घटिरहेको छ विद्युत् प्राधिकरणको नाफा ?


काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपाल विद्युत् प्राधिकरणको नाफा एक अर्ब चार करोड रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव (आव २०७९/८०) मा प्राधिकरणको नाफा घटेको हो । अघिल्लो आवमा १३ अर्ब ३७ करोड नाफा आर्जन गरेको प्राधिकरणले गत आवमा १२ अर्ब ३३ करोड रूपैयाँ मात्रै नाफा गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोलामा पानीको बहाव घट्दा नाफा घटेको बताउँछन् । हालै एक पत्रकार सम्मेलनमा बोल्दै उनले गत आवमा शुख्खायाममा खोला तथा नदीनालामा पानीको बहाब घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको नाफा प्रभावित भएको तर्क गरे ।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा एक अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब एक अर्ब रूपैयाँ पुगेको बताए । प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको छ । वित्तीय सुधार, आन्तरीक रूपमा खपतमा वृद्धि गर्दै निर्यातमा जोड दिईएको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको बताए । उनले यसमा प्राधिकरणले होमवर्क गरेको भन्दै छिट्टै जारी हुने बताए ।

नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने भएको छ । निर्देशक घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने बताएका हुन् । उनले भनेका छन्, “एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।”

अहिले विश्वभर हाइड्रोजन पावर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छ । निर्देशक घिसिङले विद्युतको तार भूमिगत गर्नेकाममा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । उनले विद्युतको तार भूमिगत गर्ने काममा ढिलासुस्ती भएको स्वीकार गरेका छन् ।