१३ पुष २०८१, शनिबार

बैंकमा अझै ३ खर्ब अधिक तरलता


नेपाल बैंकर्स संघले व्याजदरमा कार्टेलिङ्गको प्रथा हटाएसँगै भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुमा तरलता अनुपात सन्तुलनमा आएसँगै अधिकांश बैंकहरूले ब्याजदर फेरबदल गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ ।

भाद्रका लागि मुद्दति निक्षेप व्याजदरमा वृद्धि

सार्वजनिक भएको व्याजदर अनुसार भदौका लागि व्यक्तिगत मुद्दतीमा सवैभन्दा वढी १०.८९६ प्रतिशतसम्म मात्र राखेका छन् । अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाइने भएकाले साउनको तुलनामा भदौमा व्याजदरमा खासै ठूलो अन्तर भने भएको छैन । केही बैंकहरुले भने साउनको व्याजदरलाई नै निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दतीमा अधिकतम १०.८९६ प्रतिशतसम्मको व्याज प्रदान गर्ने घोषणा गरेका बैंकहरुमा सानिमा बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन्। यी बैंकहरुले यो ब्याजदर तीन महिनाभन्दा बढी समयसम्म जम्मा गर्नेहरुका लागि प्रदान गर्न लागेका हुन् । लक्ष्मी सनराइज बैंकले १०.४० र नबिलले २ वर्षमाथिको अवधिमा १०.४९ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ।

सार्वजनिक गरिएको नयाँ व्याजदर अनुसार एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशतसम्म व्याज प्रदान गर्नेछ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, एसबीआई बैंक, र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ।

स्टान्डर्ड चार्टड बैंकले अधिकता ८.९२ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ। यो पनि एक वर्षमाथिको अवधिमा मुद्दतिमा जम्मा गर्नेको हकमा मात्र लागू हुनेछ । वाणिज्य बैंकहरुमा यो नै सबैभन्दा कम ब्याजदर हो।

लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ब्याजदर कार्टेलिङको अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका हुन् ।

भदौ १ गते शुक्रवारदेखि लागू हुने गरी १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको तथ्यांकले देखाएको छ ।

बैंकहरुले मुद्दतिमा अधिकतम १०.८९६ प्रतिशत कायम गरे पनि रेमिट्यान्स मुद्दतिमा भने ११.८९६ प्रतिशतसम्म ब्याजदर बैंकहरुले प्रदान गर्ने प्रावधान रहेको छ ।

रेमिट्यान्सलाई प्रोत्साहन दिनका लागि मुद्दती खातामा अधिकतम १ प्रतिशत बिन्दु बढी ब्याज दिन सक्ने प्रावधान रहेको छ ।

अधिकतम १०.८९६ प्रतिशत व्यक्तिगत मुद्दतिमा व्याजदर तोकिएका कारण संस्थागत मुद्दतीका ग्राहकले भने ८.८९६ प्रतिशत मात्र व्याजदर पाउनेछन् ।

व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दु कम दिनुपर्ने व्यवस्थाअनुसार संस्थागत मुद्दतीमा अधिकतम ८.८९६ प्रतिशतसम्म बैंकहरुले ब्याजदर प्रदान गर्ने भएको होे ।

सार्वजनिक भएको बैंक व्याजदर विवरण अनुसार एनएमबि, प्राइम कमर्सियल, कुमारी र एनआईसी एसिया बैंकले ०.०३ प्रतिशत विन्दुदेखि ०.९४ प्रतिशत विन्दुसम्म ब्याजदर घटाएका छन् । यी बैंकहरुले साउनमा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका थिए ।

यी बैंकहरुमा तरलता सन्तुलन भएका कारण व्याजदर घटाइएको बताइएको छ । विवरण अनुसार एनएमबि बैंकले ०.९४ प्रतिशत विन्दुले ब्याजदर घटाएको देखिएको छ । साउनमा सो बैंकको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज थियो। अव भने यो बैंकले ९.९९ प्रतिशत मात्र दिने छ ।

सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा एकदेखि करिब दुई प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

विगतमा नेपाल राष्ट्र बैंकले स्थानीय तहको रकम निक्षेपका गणना गर्न नपाउने व्यवस्था गरेका कारण सीडी रेसियोले गदा तरलताको अभाव देखिएका बैंकहरु अहिले भने स्वच्छन्द भएका छन् । तर अहिले केन्द्रीय बैंकले स्थानीय तहको रकमलाई पनि निक्षेपमा गणना गर्न पाउने प्रावधान राखेका कारण वाणिज्य बैंकहरुसँग लगानीयोग्य तरलता सहज भएको छ । जसले गर्दा बैंकहरु अहिले व्याजदर बढाउनमा प्रतिस्पर्धी नदेखिएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४९ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अहिले बैंकहरुको सीडी रेसियो ८३.७३ रहेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशतभन्दा क मगर्न निर्देशन दिंदै आएको छ ।

सीडी रेसियोलाई मेन्टेन मात्र गर्ने हो भने पनि बैंक तथा वित्तीय संस्थाहरूसँग तीन खर्ब ४० अर्बभन्दा वढी रुपैयाँ लगानीयोग्य रकम रहेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ