१२ पुष २०८१, शुक्रबार

मुद्दतीबाट बचतमा सर्दै बैंकको निक्षेप


बैंक, वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा परिवर्तन भएको निक्षेप पुन: बचततर्फ फर्किन थालेको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो ।

गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले ब्याजदर बढाएका थिए । त्यसपछि बैंकमा मुद्दती निक्षेपको अंश वृद्धि भयो । पछिल्ला महीनाहरूमा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको हिस्सा घट्न थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव २०७९/८० सम्ममा बैंक, वित्तीय संस्थासँग रहेको कुल ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेपमा ५८ दशमलव ९ प्रतिशत मुद्दतीमा थियो । त्यसभन्दा अघिल्लो आवमा बैंकहरूमा मुद्दती निक्षेपको अंश ५५ दशमलव ८ प्रतिशत थियो ।

तरलता अभाव भएपछि गत आवमा बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिएका थिए । निक्षेप आकर्षित गर्नकै लागि १० गुणासम्म प्रतिफल दिने गरी २१ वर्ष अवधिसम्मका योजनाबाट निक्षेप संकलन गरेका थिए ।

त्यसले गर्दा गत आवको पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसम्म पुग्यो । २०७९ पुसमा वाणिज्य बैंकहरूको ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । पुसयता बैंकहरूले ब्याजदर घटाउन थालेपछि भने मुद्दती निक्षेपको अंश घट्न थालेको हो । वैशाखदेखि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ । यसैगरी बैंकहरूले विप्रेषण मुद्दतीको बचतमा साधारण मुद्दतीको बचतलाई दिएभन्दा १ प्रतिशत बिन्दु बढी ब्याज दिन पाउने प्रावधान छ । यसकारण बैंकहरूले निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिँदै आएका छन् ।

२०८० असारमा बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७ दशमलव ७ प्रतिशत, बचत २६ दशमलव ६ प्रतिशत, अन्य ६ दशमलव ८ प्रतिशत छ । २०७९ असारमा चल्ती निक्षेप ८ दशमलव ९ प्रतिशत, बचत २७ दशमलव ६ प्रतिशत र अन्य ७ दशमलव ७ प्रतिशत थियो ।

२०७९ पुसमा मुद्दती निक्षेपको अंश ६० दशमलव ४ प्रतिशतसहित उच्च बिन्दुमा पुग्दा चल्ती ७ दशमलव ८, बचत २५ दशमलव ६ र अन्य ६ दशमलव २ प्रतिशत थियो । पुसको तुलनामा असारमा मुद्दती निक्षेपको अंश घट्दा बचत तथा अन्य निक्षेपको अंश बढेको छ ।

तरलता अभाव भएपछि बैंकहरूले साधारण बचतलाई मुद्दतीको ब्याज दिएकाले पनि मुद्दतीको अंश बढी भएको हो । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाएका छन् ।