उपचुनाव सकिएलगत्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने मनस्थितिमा देखिएको छ ।
सर्वोच्च अदालतको आदेशपछि सांसद र मन्त्री दुवै पद गुमाएका रवि लामिछाने वैशाख १० को उपचुनावमा अत्याधिक मतान्तरका साथ विजयी हासिल गरेपछि शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपस्थित देखिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन, तनहुँ र बारामा गरेर तिनैवटा क्षेत्रबाट उम्मेदवार उठेका थिए । तर बाराबाट चुनाव लडेका पूर्वप्रहरीका हाकिम रमेश खरेल पराजित भए । तनहुँबाट स्वर्णिम वाग्ले तथा चितवनबाट रवि लामिछाने अत्याधिक मतान्तरका साथ विजयी भए ।
हाल रास्वपासँग २१ सांसद रहेका छन् । सोही आधारमा उक्त पार्टी पनि विशेष मागहरु राख्दै सरकारमा जाने मनिस्थितिमा रहेको हो ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागी हुन आफूहरु सकारात्मक भएको बताए । ‘हामीले नागरिकलाई डेलिभरी दिनसक्ने गरी मन्त्रालयलाई स्वतन्त्र हिसाबले सञ्चालन गर्न सक्ने अवस्था रह्यो र जनतालाई हामीले भनेका एजेन्डामा काम गर्न मिल्ने अवस्था बन्यो भने सरकारमा पनि सहभागी हुन्छौं ।’ ढकालले भनेका छन् ।
गत १० पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाबाट रवि लामिछाने गृहमन्त्री बनेका थिए ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन ।