१० पुष २०८१, बुधबार

जग्गा विवादमा विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ, यस्तो छ वास्तविकता


व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

रहिआएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना सन्दर्भमा २०७९ कात्तिक २२ मा बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैठकले छानबिन थाल्ने निर्णय गरेको थियो । बैठक बसेकै दिन अख्तियारले अर्थमन्त्रालयलाई पत्र काट्दै समग्र जानकारी उपलब्ध गराउन माग गरेको थियो ।

चीनले सहयोग गरेको उक्त कम्पनी घाटामा गएको भन्दै १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो ।

बिहीबार सीआईबीले चौधरी समूहका सदस्य तथा सिजी होल्डिङका अध्यक्ष अरुण चौधरी, तत्कालिन छाला जुत्ता कारखानाका सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा, आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको छ । सीआईबीले हिनामिना प्रकरणमा जोडिएका अन्यलाई पनि पक्राउको तयारी गरेको छ ।

तत्कालिन समय चौधरी समूहले वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो कम्पनी च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडको नाममा नामसारी गराउन सफल भएको थियो ।

कार्यकारी प्रमुख सिंहले २०४३ भदौमा कारखाना सञ्चालक समितिको बैठक डाकेर चौधरीलाई जग्गा दिलाउने निर्णय गरेका थिए । जग्गा दिएवापत चौधरीको च्याम्पियन फुटवेयर कम्पनीको २५ सय कित्ता शेयर बाँसबारी जुत्ता कारखानाले पाउने सहमति गराइएको थियो ।