अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको बताएका छन् ।
आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले यस्तो बताएका हुन् ।
चालू आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा केही कम भए तापनि गत वर्षको यही अवधिको तुलनामा छ दशमलव ५४ प्रतिशतले अधिक छ ।
उनले अन्तर्राष्ट्रिय विकास सहायतातर्फ आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु सार्वजनिक खर्च प्रणाली र पूँजीगत खर्चमा प्रभावकारिता ल्याउन केही महत्वपूर्ण कामको थालनी भएको बताए ।
“वास्तविक स्रोतको उपलब्धता विना नै विकास आयोजनाको लागि बहुवर्षीय ठेक्का सहमति दिने र अर्थ मन्त्रालयको सहमति बेगर बहुवर्षीय खरिद प्रक्रिया अगाडि बढाउने प्रवृत्तिको अन्त्य गरी स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन र बजेट अनुशासन कायम गर्न आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८० जारी गरिएको छ”, उहाँले भन्नुभयो, “यो मापदण्डको कार्यान्वयनबाट आयोजना छनोटमा प्राथमिकीकरण हुने, कार्यान्वयनमा सहजता आउने, सार्वजनिक स्रोतको उपयोगिता बढ्ने, राष्ट्रिय गौरव, रुपान्तरणकारी तथा रणनीतिक महत्वका निर्माणाधीन ठूला आयोजनामा स्रोतको अभाव हुन नपाउने र तोकिएको समयमा आयोजना कार्यान्वयन भई सार्वजनिक स्रोतको उपयोगिता बढ्ने विश्वास लिएको छु ।”
अनिवार्य दायित्व तथा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी रकममा तीव्र वृद्धि हुँदा खर्चमा चाप पर्न गएको छ । कार्यान्वयनको क्रममा रहेका आयोजनालाई पूर्णता दिने र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम प्रस्ताव गरेर मात्र नयाँ आयोजना तथा कार्यक्रमको थालनी गरिने उनले बताएका छन् ।
चालु आर्थिक वर्षमा सरकारले रू दुई खर्ब ४० अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएकामा समीक्षा अवधिसम्म रू एक खर्ब २८ अर्ब ३१ करोड परिचालन भएको छ । सरकारले चालू आवमा रू दुई खर्ब ६२ अर्ब ६९ करोड २१ लाख वैदेशिक सहायता परिचालन गर्ने राखिएको छ ।