९ पुष २०८१, मंगलवार

जब प्रधानमन्त्री प्रचण्डले ठोकुवा गरेरै भने: रवि निर्दोष हुन्, प्रहरीले अनुसन्धान गर्न आवश्यक छैन


प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको बताएका छन् ।

सांसदहरूले उठाएका प्रश्नको मंगलबार प्रतिनिधिसभामा जबाफ दिँदै प्रधानमन्त्री दाहालले बिनाप्रमाण ठाडो उजुरीका भरमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी गरेको भन्नु जायज नहुने बताएका हुन्।

‘हालसम्मका अनुसन्धानले उहाँ (गृहमन्त्री रवि लामिछाने) सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको देखिएको छ। अदालतमा विचाराधीन मुद्दामा पनि उहाँलाई कही कतै जोडिएको देखिएको छैन,’ दाहालले भने।

प्रधानमन्त्री दाहालले सहकारीबाट उपप्रधान तथा गृहमन्त्री लामिछानेका नाममा प्रवाह गरिएको भनिएको ऋण फस्र्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरी ब्रिफिङसमेत भएको जानकारी गराए।

‘सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरिएको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन,’ प्रधानमन्त्री दाहालले भने। उक्त जाहेरीबमोजिम प्रहरीले १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको पनि उनले बताए।

जुन मुद्दा अदालतमा विचाराधीन छ। प्रधानमन्त्री दाहालले मुद्दामा प्रतिवादी बनाइएका १९ जनामध्ये चार पक्राउ परेको र बाँकीलाई प्रहरीले खोजी गरिरहेको जानकारी गराए।

प्रधानमन्त्री दाहालले गत माघ १६ गते आएर कास्की जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिइएको र त्यसमा लामिछानेसमेत १८ व्यक्ति र कम्पनीलाई विपक्षी बनाइएको बताए। एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा फेरि आधार र प्रमाणबिनाको जाहेरी दर्ता गर्न आवश्यक नभएको प्रधानमन्त्रीले बताए।

उनले यो विषय लामिछाने सरकारमा आउनुअघिको भएको बताए। ‘त्यतिबेलाको सरकारमा त अहिलेको प्रतिपक्ष कांग्रेस स्वयं सहभागी थियो,’ प्रधानमन्त्री दाहालले भने।

‘ठाडो उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ, के हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं ?’ प्रधानमन्त्रीले भने, ‘गृहमन्त्रीबाट मात्र हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्न खोज्नुभएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि फरक पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला। त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्दछु।’

सदनमा प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेको बचाग गरेपछि कांग्रेसले गलत जानकारी गराइएको भन्दै आपत्ति जनायो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले प्रमाण नै छैन भनेको र आफूहरूले पर्याप्त प्रमाण देखेको भन्दै यसको छिनोफानो गर्न संसदीय छानबिन समिति गठनको माग गरे। विगतमा पनि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिएको स्मरण उनले बताए। यस्तो विषयमा संसद्ले पनि छानबिन गरेका उदाहरण दिँदै लेखकले भने, ‘सदनभित्र छानबिन समिति गठन गरौं, प्रमाण छ कि छैन हेरौं।’ नागरिक दैनिकमा खबर छ