७ पुष २०८१, आईतवार

नक्कली शरणार्थी काण्डमा रविले पहिलोपल्ट खोले मुख, के भने ?


संसदको प्रि-बजेट सेसनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी काण्डलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताएका छन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न ठूला दलहरूलाई खबरदारी गरेका छन् ।

‘यो भ्रष्टाचार काण्डलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ,’ उनले भने ।

सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त (प्रि– बजेट) माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दलहरूले दोषीलाई जोगाउने काम गर्न लागेको आशंका गरेका समेत गरे ।

‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्किउन् । मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् । यसलाई हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौं,’ लामिछानेले भने ।

यसअघि लामिछानेले यस विषयमा आफ्नो धारणा राखेका थिएनन् । सरकारले नक्कली शरणार्थी काण्डबारे छानबिन शुरू गरेपछि सरकारबाट समर्थन फिर्ता गरेका लामिछाने सामाजिक सञ्जालमा आलोचितसमेत बनेका थिए ।

फरक प्रसंगमा लामिछानेले देशको अर्थतन्त्र नाजुक बन्नुको दोष राजनीतिक भ्रष्टाचार भएको भन्दै बाह्य कारण देखाएर उम्किन नमिल्ने बताए ।