७ पुष २०८१, आईतवार

आज बानेश्वरमा संसद बैठक बस्ने, प्रचण्ड छोरीसहितको टोली बोकेर भारत जाने


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत जादैछन्। आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री दाहालसँगै पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन्। प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।