काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री बन्ने भएका छन् । यसका लागि उनले हिजै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर एमाले अध्यक्ष ओली शुक्रबार अबेर राति राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १ सय ६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।
संसद्का अन्य साना दल जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस–एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।