७ पुष २०८१, आईतवार

अर्थतन्त्र धमिल्याउने प्रयास: राजस्व संकलनमा सरकार असफल


गत आर्थिक वर्ष २०८०–८१ मा शिक्षा सेवा शुल्कबाहेक सवै शीर्षकमा राजस्वले लक्ष्य भेट्न नसकेको पाइएको छ । बजेट बढी देखाउनका लागि र मागनुसार बजेट विनियोजन गर्न महत्वाकांक्षी रूपमा राजस्वको लक्ष्य राख्दा राजस्व संकलन र बजेट खर्चका आधारमा सरकार असफल हुँदै आएको छ ।

शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी उठ्यो

लक्ष्यको तुलनामा ७६ प्रतिशत मात्रै राजस्व संकलन भएका कारण अर्थतन्त्रमा मन्दी लाग्दै आएको छ ।

गत आव २०८०–८१ का लागि सरकारले लिएको राजस्व संकलनको लक्ष्यभन्दा ३ खर्ब ४० अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । गत आव सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, १० खर्ब ८२ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ मात्रै संकलन गरेको तथ्यांक रहेको छ ।

सरकारले लिएको लक्ष्यको तुलनामा मात्र कमी नआएको नभई अघिल्लो आव २०७९–०८० को तुलनामा समेत कृषि सुधार शुल्क, निकासी र आन्तरिक उत्पादनमा उठ्ने राजस्व कम भएको छ ।

अर्थ मन्त्रालयका अनुसार कृषि सुधार शुल्कमा ११ दशमलव ८२ प्रतिशत र निकासीका १६ दशमलव ७ प्रतिशत राजस्व अघिल्लो आवको तुलनामा घटेको छ ।

यद्यपि, गत आवमा शिक्षा सेवा शुल्कबाट भने लक्ष्यको तुलनामा बढी राजस्व उठेको छ । यस शीर्षकमा सरकारले २ अर्ब ८१ करोड २ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ३ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व उठेको तथ्यांक छ । आव २०७९–०८० मा यस शीर्षकमा २ अर्ब ३२ लाख राजस्व उठेको थियो । यस हिसाबले अघिल्लो आवको तुलनामा गत आवमा शिक्षा सेवा शुल्क १ अर्बबढी उठेको छ ।

गत आव २०८०–०८१ मा सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धि कर (भ्याट)बाट उठेको तथ्यांक रहेको छ । यद्यपि, त्यो पनि लक्ष्यको तुलनामा कम थियो । सरकारले भ्याटबाट ४ खर्ब २५ अर्ब ८९ करोड १४ लाख रुपैयाँ उठाउनले लक्ष्य लिएको थियो । तर, सो शीर्षकमा ३ खर्ब १० अर्ब ४५ करोड मात्र उठाउन सरकार सफल भएको छ । यो लक्ष्यको ७३ प्रतिशत मात्रै हो ।

भ्याटअन्तर्गत उत्पादन, बिक्री र सेवामार्फत १ खर्ब ५७ अर्ब उठाउने लक्ष्य थियो । यस शीर्षकमा सरकारले १ खर्ब ३० अर्ब हाराहारीमा राजस्व संकलन ग¥यो । आयातमा लाग्ने भ्याटबाट मात्रै १ खर्ब ८० अर्ब ३४ करोड ९२ लाख रुपैयाँ राजस्व उठ्यो ।

लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व उठेको भन्सार महसुल शीर्षक राजस्व संकलनका आधारमा दोस्रो स्थानमा रहेको छ । ३ खर्ब ७ अर्ब ४३ करोड राजस्व उठाउने लक्ष्य लिएको सरकार गत आवमा २ खर्ब १ अर्ब रुपैयाँ भन्सार महसुलमा चित्त बुझाउन बाध्य भयो । भन्सार महसुल लक्ष्यभन्दा १ खर्ब ६ अर्ब कम उठेको तथ्यांक रहेको छ ।

सरकारले आयकर संकलनमा पनि लक्ष्य भेट्टाउन सकेन । ३ खर्ब ६२ अर्ब ११ करोड आयकर संकलन गर्ने लक्ष्य राखेको अर्थ मन्त्रालयले असार मसान्तसम्ममा जम्मा २ खर्ब ८३ अर्ब ४६ करोड मात्र आयकर संकलन गरेको थियो ।

गत आवमा ९ खर्ब ४४ अर्ब कर राजस्व संकलन गरेको सरकारले गैरकरबाट १ खर्ब १४ अर्ब तथा अन्य प्राप्तिबाट २३ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको छ ।

सरकारले गत आवमा निर्यातबाट २९ करोड १७ लाख, पूर्वाधार करमा २० अर्ब ६३ करोड ८१ लाख, कृषि सुधार शुल्कबापत ६ अर्ब ५३ करोड ६१ लाख, सडक मर्मत तथा सुधार दस्तुरबापत ८ अर्ब ८४ करोड २१ लाख र सडक निर्माण तथा सम्भार दस्तुरका लागि ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको राजस्व संकलन गरेको थियो ।

गत आवमा निर्यातबाट ६९ करोड ९१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा सरकारले २९ करोड १७ लाख रुपैयाँ मात्र राजस्व उठाउन सफल भएको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा निर्यात ३ दशमलव शून्य ३ प्रतिशतले घटेको थियो । मुलुकबाट अघिल्लो वर्ष १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँबराबरको निर्यात भएको थियो ।

गत आवमा अन्तःशुल्कबापत मात्रै १ खर्ब ४६ अर्ब ३५ करोड २२ लाख रुपैयाँ राजस्व उठाएको पाइएको छ । यसमा आन्तरिक उत्पादनबाट मात्रै १ खर्ब ५५ अर्ब ५८ करोड बढी उठाउने लक्ष्य राखेकामा १ खर्ब ९ अर्ब २० करोड ८८ लाख रुपैयाँ संकलन भएको थियो । आयातीत वस्तुको अन्तःशुल्कबापत ५१ अर्ब ६३ करोड हाराहारी उठाउने लक्ष्य राखेकामा ३७ अर्ब १४ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आवमा सरकारले आयकरबापत ३ खर्ब ६२ अर्ब ११ करोड ८९ लाख रुपैयाँ उठाउने लक्ष्य लिएकामा लक्ष्यको ७८ दशमलव २८ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोड ४६ लाख रुपैयाँबराबरको आयकर संकलन भएको तथ्यांक रहेको छ ।

भन्सार विभागको वैदेशिक व्यापारको तथ्यांकनुसार आव २०७९–८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार आयात भएकामा गत आवमा भने घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँमा सीमित भएको थियो । आयात वार्षिक १ दशमलव १६ प्रतिशतले घटेको छ । नागरिक दैनिकमा खबर छापिएको छ