११ पुष २०८१, बिहीबार

हराएका प्रकाशले आज प्रधानमन्त्री ओलीलाई भेट्ने


घरमै नागरिकता पाएपछि प्रकाश तामाङले आज सोमबार प्रधानमन्त्री भेट्न काठमाडौं जाने तयारी रहेको जानकारी दिए । हेर्ने कथा को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाशले हिजो आइतबार घरमै नागरिकता पाएका थिए । भोजपुर षडानन्द नगरपालिका–१० साङ्पाङ स्थित छाप्लेगाउँ स्थित प्रकाशको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । नागरिकता पाएपछि प्रकाशले खुसी ब्यक्त गरेका छन् । हेर्ने कथाले उनको ३५ बर्ष हराएको कथा प्रशारण गरेपछि समाजिक सञ्जालमा सबैको ध्यान तानेको थियो ।

गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिए । बुबाआमा बृद्धबृद्धा भएको र स्वास्थ्यमा समस्या भएका कारण इलाका प्रशासन कार्यालय लिङ्ला आउन सक्ने अवस्थ नभएका कारण घरैमा पुगेर नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख अधिकारीले बताए ।

प्रकाशले ४१ बर्षको उमेरमा नागरिकता पाउँदा निकै खुसी लागेको बताए । हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशक पछि परिवारको सम्पर्कमा पुगेका थिए । नागरिकता पाएपछि आफु बुबाआमा सँग घरमै बस्ने इच्छा रहेको प्रकाशले बताए ।

हेर्ने कथा र विद्या चापागाईँ साथै आफुलाई घर फर्काउनेलाई धन्यवाद समेत दिएका छन् । प्रकाश काठमाडौदेखि शनिबार हवाइजहाज मार्फत संखुवासभाको तुम्लिङटार हुदै घर भोजपुर पुगेको थिए ।

अहिले प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ । नागरिकता पाएपछि बैंक खाता खोल्ने तयारी भइरहेको षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासले बताए । नगरपालिकाले प्रकाशलाई योग्यता अनुसारको रोजगारी दिलाउने नगरप्रमुख उदासले बताए ।