१० पुष २०८१, बुधबार

परीक्षामा एआईको प्रयोग गरेको भेटिए परीक्षा रद्द गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय


त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको परीक्षा सुधार समितिको बैठकले त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय प्रविधिको विकास र एआईको प्रयोगले शिक्षामा पारेको प्रभावबारे बहससमेत चलेको छ । विद्यार्थीले प्रविधिको भर पर्दा उनीहरूको पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय एआईको प्रयोग गर्ने विद्यार्थीको संख्या बढ्दो छ, जसले गर्दा उनीहरूको मौलिकता र सिर्जनशीलता कमजोर बनाउँदै लगिरहेको छ । एआईको प्रयोगले विद्यार्थीको पढ्ने संस्कृतिलाई निरुत्साहित गर्दै लगिरहेको छ । उसो त त्रिविका सबै तह परीक्षामा मोबाइल, स्मार्टवाचलगायत विद्युतीय सामग्रीको प्रयोगमा पूर्णतः रोक लगाइएको छ ।

यद्यपि केही परीक्षा केन्द्रमा परीक्षार्थीले प्रविधिको प्रयोग गरी चोरी गर्ने गरेको सूचना आएको केसीको भनाइ छ । त्यसैले उनीहरूलाई सचेत गराउने उद्देश्यले समितिले (एआई) प्रयोग गरेको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको उनको भनाइ छ । त्रिविअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थाका विद्यार्थीहरूलाई वार्षिक प्रणालीमा २०५८ सालदेखि र सेमेस्टर प्रणालीमा २०६९ सालदेखि समयसीमा कटेका परीक्षार्थीहरूका लागि मौका परीक्षा दिने निर्णय पनि समितिको बैठकले गरेको छ ।