संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ।
यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए। तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे।
के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त? कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान्? अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ।
मतदानको दिन नजिकिँदै गर्दा हामी निर्वाचनसँग सम्बन्धित विविध पक्ष अनि ह्वाइटहाउसका लागि हुँदै गरेको प्रतिस्पर्धामा निर्वाचन प्रचारप्रसारले पार्ने प्रभावलाई नियमित रूपमा नियालिरहने छौँ।
राष्ट्रिय मतसर्वेक्षणमा कसको अग्रता?
कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालियो।
उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन्।
तलको तालिकाले ह्यारिस र ट्रम्पले पाएको समर्थन देखाउँछ। यसमा प्रतिशतलाई दशमलवमा नभई नजिकैको पूर्ण सङ्ख्यामा प्रस्तुत गरिएको छ।
निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन्।
तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन। टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए।
विगत केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। तलको चित्रले त्यसलाई देखाउँछ। विभिन्न रङ्गमा प्रस्तुत रेखाले मुख्य तीन उम्मेदवारका पक्षमा अभिव्यक्त मतको औसत मान र बिन्दुले प्रत्येक सर्वेक्षणमा उनीहरूले प्राप्त गरेको समर्थनको प्रतिशत सङ्केत गर्छन्।
देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २७० इलेक्टोरल कलेज मत पाउनैपर्छ।
सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन।
दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ। bbc