७ पुष २०८१, आईतवार

चीनको एक्जिम बैंकसँग १७ करोड ५२ लाख डलर ऋण सम्झौता


चीनको एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएपछि बहुप्रतीक्षित मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु भएको छ । २०७८ सालको असारमा लगानी बोर्डले वैदेशिक लगानीका लागि स्वीकृति दिए पनि ऋण सम्झौतामा ढिलाइ हुँदा अन्योल छाएको थियो ।

चीनको एक्जिम बैंक र मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाबीच ऋण सम्झौतासँगै आर्थिक व्यवस्थापन भएपछि निर्माण सुरु भएको हो । मनाङ–मस्र्याङ्दी जलविद्युत् कम्पनीमा नेपालको बुटवल पावर कम्पनीका साथमा चिनियाँ लगानीकर्ता एससीआईजी इन्टरनेसनल, सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्यूवाईसी इन्टरनेसनल कम्पनीको संयुक्त लगानी छ ।

आयोजनाको वित्तीय व्यवस्थापनको काम सकिएसँगै निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर छ भने आयोजनाका लागि चीनको एक्जिम बैंकले १७ करोड ५२ लाख ५० हजार डलर कर्जा दिने भएको छ । आयोजना निर्माणका लागि बाँकी १५ करोड डलरको व्यवस्था विभिन्न लगानीकर्ता र ऋणबाट व्यवस्थापन गरेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले जनाएको छ ।

कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको लगानी र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले आयोजनास्थल आसपासका स्थानीयलाई प्रचलित कानुनको अधीनमा रही सेयर उपलब्ध गराउने योजनासमेत बनाएको छ ।

साढे ३ वर्षमा निर्माण कार्य सकाउने लक्ष्य लिएको अर्धजलाशययुक्त आयोजनाको रूपमा रहेको सो आयोजना मनाङको चामे र नासोङ गाउँपालिकामा रहेको छ ।

जलविद्युत् आयोजनाका अनुसार बाँध चामे गाउँपालिका–३ कोतोमा र विद्युत्गृह नासोङ गाउँपालिका–९ मा बनाइनेछ । आयोजना निर्माण सकिएपछि वार्षिक ७६६ गिगावाट (जीडब्लूएच) विद्युत् उत्पादन हुनेछ ।

आयोजनाले स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त सेयर लगानीमा यस्ता तीनवटा जलविद्युत् आयोजना बनाउनेछ । मस्र्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो आयोजना पहिलो आयोजना रहेको बताइएको छ ।