नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबारको क्याबिनेटले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरणमा छोटोसूची (सर्टलिस्ट) मा छानेको थियो । तीमध्ये श्रेष्ठद्वय त्यति बेलै अन्तर्वार्तामा सहभागी भए । तर कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै गएका थिएनन् ।
त्यसलगत्तै अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाले । गत असार १९ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी भयो । त्यति नै बेला पुरानो गठबन्धनको सरकार भत्केर नयाँ गठबन्धन बनेको थियो ।
अध्यक्षमा नियुक्त भएसँगै लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर पुँजीबजारको विकास र विस्तारका लागि प्रभावकारी रूपमा काम गर्ने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताएका छन् ।
बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठ व्यवसायी हुन् ।
काठमाडौँ विश्वविद्यालयबाट एमबिए उत्तीर्ण श्रेष्ठले स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरिसकेका छन् ।