चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।
मंगलबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हितका विषय र सहकार्यका सम्भावनाहरूमा विस्तृत छलफल भएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार, राष्ट्रपति सीले नेपाल–चीन सम्बन्ध पुराना र असल छिमेकीबीचको मित्रताको उदाहरण भएको बताए।
राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान, र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै नेपालको विकास र समृद्धिमा चीनले निरन्तर साथ र सहयोग दिने प्रतिवद्धता जनाए।
उनले नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्याउन थप सहज बनाउने र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताएका छन्। उनले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति सीलाई औपचारिक निमन्त्रणा दिएका छन्। जवाफमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाए।