मिसन रेड अभियान अन्तर्गत पहिलो रक्तदान कार्यक्रममा १७ जनाले पहिलो पटक रक्तदान गरेका छन् । शुक्रबार बिहान भरतपुर अस्पताल परिसरमा भएको कार्यक्रममा १७ जनाले पहिलो पटक रगतदानको अनुभव लिएका हुन्।
मिसन रेड अभियानको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको सह आयोजनामा मेरो पहिलो रक्तदान कार्यक्रम गरिएको हो। भरतपुर अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । अहिलेसम्म रक्तदान नगरेका युवाहरुलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले अस्पताल परिसरमा कार्यक्रम गरिएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले बताए । उनका अनुसार ४४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभाध्यक्षता अभियान संयोजक अधिकारीले गरेका थिए । पहिलो पटक रक्तदान गर्न आउने एक महिलालाई प्रमुख जिल्ला अधिकारी पौडेलले ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन पछि बोल्दै पौडेलले अभियानलाई विद्यालयस्तरमा पुर्याउनुपर्नेमा जोड दिए । “स्कुल कलेजका विद्यार्थीहरूलाई यस अभियानमा जोड्न सके मिसन रेडको मिसन पूरा हुनेछ ,युवाहरुको यो पवित्र अभियानमा सबैजनाले होस्टेमा हैंसे गर्न आवश्यक छ”।
कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि विजय सुवेदी ,भरतपुर अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेल ,जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती, चितवन प्रहरी प्रमुख गौतम मिश्र , चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरे ,भरतपुर महानगर स्काउटका अध्यक्ष उपेन्द्र घिमिरे , नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरी प्रसाद पौडेल ,ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरी प्रसाद न्यौपाने लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर कमिटीका अध्यक्ष रमेश नेपालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण चितवनका पत्रकार समिर चापागाईले गरे।
जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, चितवन उद्योग संघ, भरतपुर महानगर स्काउट, लियो क्लब, जेसिआई, सरल नेपाल, उत्सव मेडिकल सप्लायर्स, किलियर भिजन अप्टिकल हाउस जस्ता संघ-संस्थाहरुको उपस्थिति कार्यक्रमलाई जीवन्त बनाएको थियो ।
यस अभियानले रक्तदान नगरेका युवाहरुलाई उत्प्रेरित गर्दै समाजमा सकारात्मक सन्देश पुर्याएको सहभागीहरुले बताएका छन् ।
मिसन रेड अभियान यसै वर्षबाट देशभर देखिएको चरम रक्त अभाव समाधान गर्न उद्देश्यका साथ एस.डि फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा सुरु अभियान हो । यसै अभियान अन्तर्गत युवाहरुलाई रक्तदानमा प्रेरित गर्नुका साथै विभिन्न संघसंस्थाहरुलाई यस्ता कार्यक्रम आयोजना गर्न उत्साहित गराउने उद्देश्य सहित आयोजना गरिएको मिसन रेडको यो महत्वपूर्ण प्रयास हो । मिसन रेड अन्तर्गत विभिन्न संघसंस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम, सचेतना कार्यक्रम लगायत ब्लड बैंक डिजिटलाइजेसन तथा रगत व्यवस्थापन गर्न मोबाइल एपको निर्माण कार्य पनि भईरहेकोछ। केही समय अघि रक्तदान सचेतनाका लागि विभिन्न सवारी साधनमा स्टिकर टाँसेर स्टिकर अभियान समेत सुरु गरेको छ । साथै यस अभियानले एक वर्ष भित्र पाँच हजार पिन्ट रगत संकलन गर्ने, दश हजार युवाहरुलाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब १४०० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।