
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न सुझाव दिएका छन्।
कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘राजा फर्कने चर्चा बेमौसमी बाजा हो, नेपालमा राजाको अब कुनै काम छैन, त्यो पुरानो कुरा भइसक्यो।’
उनले वंशजको आधारमा शासन गर्ने समय सकिएको उल्लेख गर्दै अब जनताबाट निर्वाचित प्रतिनिधिहरूकै शासन आवश्यक भएको उल्लेख गरे। पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले भने, ‘सडकमा अशान्ति मच्चाएर फर्कन पाइँदैन।’