
काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजार नागरिकको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता, कार्यकर्ताहरुले प्रतिवाद नगरेको जनाएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको समेत बताए । उनले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालीन माओवादी) ले कति हत्या गर्यो भन्ने कुरा अध्ययन गर्न सकिने बताए ।
‘एकथरी मानिसहरु, इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिरहँदा, होइन यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त ?,’ उनले भने, ‘१७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।’