
अमेरिकामा राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको आगमन भएपछि ६३ नेपाली नेपाल फर्किनु परेको छ ।
उनको आगमनपछि अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको हो ।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । २२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ ।
अमेरिकाले जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिल (बिहीबारसम्म) ७ नेपालीलाई ‘डिपोर्ट’ गरेको अध्यागमनको तथ्यांक छ । विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार ‘डिपोर्ट’ भएकामध्ये ८ जना एकैपटक गत २१ फागुनमा चार्टर्ड जहाजबाट र अरू ५५ जना नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् । ‘डिपोर्ट’ भएकालाई विमानस्थल अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएको छ ।