
लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजावादी समूहले हिंसात्मक आन्दोलन गरेपछि सत्तामा रहेको नेकपा एमालेले पनि शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी स्थापना दिवसका अवसरमा एमालेले काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा भेला गरेर गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको हो।
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई शक्ति प्रदर्शनका रूपमा ऐतिहासिक बनाउने निर्णय गरेको थियो। बैठकले शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका एक लाख युवालाई सहभागी गराउने निर्णय गरेपछि एमालेको युवा संघ नेपालले देशभरका युवाहरूलाई काठमाडौंमा उतार्ने भएको हो।
एमालेले शक्ति कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निर्णय भने गरिसकेको छैन। काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गर्ने तयारी भइरहेको एमालेले जनाएको छ। लामो समयदेखि टुँडिखेलमा कार्यक्रम हुन सकेको छैन। यो निर्णयपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरूको शक्ति कस्तो हुन्छ भनेर एमालेले देखाउने बताइसकेका छन्।
‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्छु,’ प्रधानमन्त्री ओलीले शुक्रबार बुटवलमा भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने।’ युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ मात्र हुने पनि ओलीको भनाइ थियो।
एमालेले वैशाख ९ गतेको कार्यक्रमलाई लक्षित गरेर विभिन्न निर्णयसमेत गरिसकेको छ। सोमबार बसेको सचिवालय बैठकले कांग्रेससँगको सहकार्य २०८४ सम्म हुने तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसभित्रको आन्तरिक विवादमा खेल्न खोजेको जनाएको छ। बैठकले कांग्रेसको सहकार्यमा कुनै पनि तलमाथि नहुने विश्वास पनि दिलाएको छ। सचिवालय बैठकले चैत १५ गतेको राजावादी समूहको दुर्गा प्रसाई कमान्डर भएर गरिएको आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ। आन्दोलनका क्रममा भएका हिंसा र विध्वंस योजनाबद्ध भएको ठहर गर्दै त्यसमा पूर्वराजाकै उक्साहट रहेको ठहर गरेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुनेको आन्दोलनमा पूर्वराजा नै जिम्मेवार रहेको बताएका छन्। बैठकपछि बोल्दै उपमहासचिव ज्ञवालीले तीनकुनेमा भएको घटनालाई जनअसन्तुष्टि भन्न नमिल्ने बताएका छन्। ‘यदि यो जनअसन्तुष्टि हो भने जनता र आन्दोलनलाई नै पुनर्परिभाषित गर्नुपर्छ,’ उपमहासचिव ज्ञवालीले भने। आन्दोलनका कमान्डर भनिनेहरू र अरू कतिपय व्यक्तिहरूले पटक–पटक नेपाललाई बंगलादेश बनाइन्छ भनेर अभिव्यक्ति दिएको उपमहासचिव ज्ञवालीले बताए। तिनै व्यक्तिहरूले विमानस्थल ठप्प पार्ने चेतावनीसमेत दिएको ज्ञवालीको भनाइ थियो।
‘धेरै सञ्चारमाध्यमले ध्यान दिएनन्, त्यस दिन उनीहरूले अब केही समयपछि विमानस्थल ठप्प हुन्छ भनेका थिए। त्यो भन्नुको कारण के हो? उनीहरूको योजना एयरपोर्ट कम्पाउन्डभित्र रहेको आयल निगमको डिपोसम्म पुग्ने थियो। त्यो तहसम्मको आपराधिक योजना उनीहरूद्वारा बुनिएको उनको भनाइ थियो। ‘यसलाई असन्तुष्टि मान्न सकिन्छ? जनताका गुनासाहरू छन् तर त्यस दिन जे प्रकट भयो, त्यो कुनै जनअसन्तुष्टि नभएर योजनाबद्ध ढंगले अहिलेको व्यवस्था उल्टाउने प्रयास हो,’ ज्ञवालीले भने। चैत १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्रसमेत जवाफदेही हुनुपर्ने एमालेको ठहर रहेको उनले बताए।
फागुन ७ गते नै आफ्नो पक्षमा मान्छेहरूलाई उक्साएर पूर्वराजा ज्ञानेन्द्रले ‘आफूलाई साथ दिन’ आह्वान गरेको र कमान्डरसमेत तोकेको पनि ज्ञवालीको दाबी थियो। ‘उहाँ (पूर्वराजा ज्ञानेन्द्र) ले १५ गतेको घटनाप्रति गाह्रो मानीमानी दु:ख गर्नुभयो तर जवाफदेहिता देखाउनुभएन। फागुन ७ गते मलाई साथ दिनुस् भनेपछि र आफैंले कमान्डर तोकेपछि ती कमान्डरकै नेतृत्वमा सबै घटना भएका छन्। त्यसमा उहाँ जवाफदेही हुनुपर्थ्यो तर पन्छिनुभयो। उहाँको अभिव्यक्तिमा यत्रो घटना घट्यो, जनताले अस्वीकार गरे। यो अनावश्यक र व्यर्थको प्रयास रहेछ, मैले हिँडेको बाटो गलत रहेछ र जिम्मा दिइएका पात्रहरू गलत रहेछन् भनेर पश्चात्ताप गरेर एउटा नागरिकको हैसियतले मुलुकको प्रणालीलाई सघाएर अगाडि बढ्छु भन्नुपर्नेमा उहाँ अझै पनि सच्चिनु भएको छैन,’ उपमहासचिव ज्ञवालीले भने।
नयाँ वर्षका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशलाई लक्षित गर्दै उपमहासचिव ज्ञवालीले गणतान्त्रिक प्रणालीलाई बदल्न कोही कसैले पनि नसक्ने बताए। ‘पूर्वराजाले जनताको असन्तुष्टिलाई नसुन्ने कुनै पनि तन्त्र हुँदैन भन्नुभएको छ। उहाँ आफूले शासन चलाएको बेलाको अवस्था के थियो? मान्छेले बिर्सिसकेका छैनन्। उहाँको नेतृत्वको तन्त्रले जनताका सारा अधिकार खोसेको, पटक–पटकको सम्झौता उल्लंघन गरेकाले जनता गणतन्त्रमा पुगेका हुन्। यो गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा उहाँमा अझै देखिन्छ। तर त्यो व्यर्थको कुरा हो। यस्तो केही प्रयास नगर्दा राम्रो हुन्छ,’ उनले भने। ज्ञवालीले तीनकुने घटनामा प्रहरी अनुसन्धान चलिरहेको भन्दै प्रचलित फौजदारी कानुन कार्यविधिअन्तर्गत कारबाही हुने दाबी गरे। ‘हामी कसैप्रति पूर्वाग्रही छैनौं। भोलि अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा जोजो दोषी देखिन्छन्, सबैमाथि कारबाही हुन्छ। उहाँले नैतिक रूपमा जवाफदेही त हुनैपर्छ,’ उनले भने।
उनका अनुसार सचिवालय बैठकले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो। उपमहासचिव ज्ञवालीका पार्टी स्थापना दिवसमा विगत वर्षमा जस्तै कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्ति कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेका छौं।’ ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभाराम बस्नेत (दाङ), बाचस्पती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ। नागरिक दैनिकमा खबर छ