३ असार २०८२, सोमबार

शिक्षकको क्रान्ति: ऐन नआउँदा रुष्ट, सुविधा पाएपछि सन्तुष्ट


काठमाडौँ । शिक्षा ऐनको माग राखेर देशभरका शिक्षकहरुले झन्डै एक महिनासम्म काठमाडौँ अस्तव्यस्त बनाए । यतिमात्रै भएन विद्यालय बन्द गरेर न भर्ना अभियान चल्यो न कक्षा १२ को परीक्षा समयमा नै भयो ।
२९औं दिनमा सरकारसँग ९ बुँदे सहमति भएपछि शिक्षकहरूले आन्दोलनको बिसाएका छन्। आजैबाट उनीहरू कार्यस्थल फर्किएका छन्।

विद्यालय बन्द गराएर सडक आन्दोलनमा होमिएका शिक्षकहरुले हिजो मात्रै आन्दोलन स्थगित गरे । शिक्षा ऐन नआएसम्म घर नफर्किने भनेका शिक्षकहरुले सरकारले केही सुविधा थप्ने निर्णयसंगै घर फर्किने निर्णय गरेका हुन् ।

आउने मितिसहित सुनिश्चितता लगायत शिक्षा मन्त्रालयमा भएका छलफलका नौ बूँदे सहमतिलाई मन्त्रिपरिषद्ले स्वीकारेसँगै आम शैक्षिक हडतालजस्ता कार्यक्रम फिर्ता गर्न शिक्षकहरू सहमत भएको शिक्षामन्त्री रघुजी पन्तले जनाए।

शिक्षक पदाधिकारी विष्णु भण्डारीले आफ्ना सबै आन्दोलन स्थगन भएको जानकारी दिए ।
सरकारसँग भएको नौबुँदे सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गर्‍यो ।

त्यो सहमतिमा शिक्षकहरूले उठाउँदै आएका मुख्य माग विद्यालय शिक्षा ऐन समावेश छैन ।
शिक्षा ऐनको अड्डी गरेर बसेका शिक्षकहरुले सेवा सुविधा पाउने सहमति हुनेबित्तिकै आन्दोलन स्थगित गर्नुले उनीहरुको नियतमाथि नै प्रश्न उठाएको छ ।

शिक्षा ऐन नै जारी गराएर सडक आन्दोलनबाट फर्किने वाचा गरेका शिक्षकहरूलाई सरकारसँग सहमति भएसँगै महासंघले सबै आन्दोलनका कार्यक्रम स्थगन गर्ने विज्ञप्तिमार्फत् जानकारी दिएको छ । शिक्षा मन्त्रालयमा तीन दिन लगातार विभिन्न चरणमा भएको वार्तामा नौ बुँदामा सहमति जुटेको थियो । सहमतिअनुसार ६० दिनभित्र शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । १५ असारभित्र शिक्षा ऐन जारी गर्न प्रयास गरिने भनी संसद्का प्रमुख तीन दलका प्रमुख सचेतकले पनि प्रतिबद्धता जनाएका छन् ।