
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया फेरि अनिश्चिततामा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कमजोर भएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएसँगै नियुक्ति प्रक्रिया फेरी अनिश्चिततामा परेको हो ।
औपचारिक रूपमा रुघाखोकीका कारण बैठक रोकिएको भनिए पनि राजनीतिक वृत्तमा भने यो निर्णयलाई ‘सत्ताभित्रको शक्ति सन्तुलन’सँग जोडेर हेरिँदैछ।
मन्त्रिपरिषद् बैठकको प्रमुख एजेन्डा नयाँ गभर्नरको नियुक्ति थियो। चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन छ। यस्तो अवस्थामा नियुक्तिमा ढिलाइ हुनु आर्थिक प्रशासनमै अन्योल ल्याउने खतरा बढिरहेको छ।
गभर्नर नियुक्ति जस्तो संवेदनशील विषय लम्बिँदा लगानीकर्ता, वित्तीय क्षेत्र, र अर्थतन्त्रप्रति सरकारको गम्भीरता माथि प्रश्न उठेको छ। न त भट्टको राजीनामा स्वीकृत भयो, न त नयाँ नाममा सहमति। यस्तो परिस्थितिमा राष्ट्र बैंकको मौद्रिक नीति निर्माण प्रक्रियामा समेत प्रभाव पर्नसक्ने चिन्ता बढेको छ।