३ असार २०८२, सोमबार

सुनसरीमा बंगुरमा देखियो अफ्रिकन स्वाइन फिभर


सुनसरीको बराहक्षेत्र नगरपालिकामा बंगुरमा अफ्रिकन स्वाइन फिभरले देखिएको छ। बराहक्षेत्र – १ स्थित खारखोलामा कृषकले पालेका ३० भन्दा बढी बंगुर स्वाइन फिभरका कारण मरेका छन्।

वडा कार्यालयका सचिव लक्ष्मण पौडेलका अनुसार गएको १० दिनयता बंगुरमा सो रोग देखिएको हो। उनका अनुसार खारखोलामा र आसपासमा फर्म सञ्चालन गरेका कुमार विश्वकर्माका १८ वटा, सुभा श्रेष्ठका ५ वटा र अन्य गरी ३० भन्दा बढी बंगुरको मरेका हुन्।

 

बंगुरमा एकाएक रोग देखिएपछि जिल्ला र नगरको प्राविधिक टोली झिकाएर नियन्त्रण र रोग संक्रमण बढ्न नदिन आवश्यक काम भएको उनले जानकारी दिए।

उनले भने, ‘यस क्षेत्रमा पहिलो पटक यो रोग देखिएको हो। यसबारे हामीले नगर, जिल्ला र केन्द्र तहको पशु कार्यालयसम्म जानकारी गराइसकेका छौँ। नगरपालिकाले आइतबार पनि सार्वजनिक सूचना जारी गर्दै बंगुर पालनमा सचेतना अपनाउन आग्रह गरेको छ। जंगल आसपासमा बंगुर नछाड्न र रोग देखिए बंगुर फर्मबाट टाढा राख्न आग्रह गरिएको छ।’

त्यसैगरी नगरपालिकाको पशु शाखाका अनुसार हालसम्म अफ्रिकन स्वाइन फिभरका कारण ६० बढी बंगुर बिरामी परेका छन्। बराहक्षेत्र नगर पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार स्थानीय कुमार विकको बंगुर फर्मबाट देखापरेको स्वाइन फिभर कृष्ण भुजेल, सुभा श्रेष्ठको फर्मका बंगुरमा पनि देखिएको हो।

अधिकारीले उक्त क्षेत्रमा बंगुरमा यस प्रकारको रोग भने पहिलो पटक देखिएको हो। हाल पशु प्राविधिकसहितको टोली संक्रमित स्थलमा खटिएर चुना, एन्टिबायोटिक औषधि, भिटामिनलगायतका रोग नियन्त्रण गर्ने औषधि वितरण गरेको उनले बताए।

कुमार विश्वकर्माको फर्ममा बंगुर मर्न थालेपछि नगर पशु शाखाले नमूना संकलन गरी केन्द्रीय ल्याबमा पठाएको थियो। सो नमूना परीक्षणमा अफ्रिकन स्वाइन फिभर संक्रमण भएको पुष्टि भएको पशु शाखा प्रमुख अधिकारीले जानकारी दिए।