३० असार २०८२, आईतवार

एकाबिहानै माधव नेपालमाथि सूर्य थापाको टिप्पणी- ‘प्रचण्डको पाउमा परेर पार्टी फुटाउने कलंक’


नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि कडा शब्दमा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो टिप्पणीमा थापाले नेपाललाई “नैतिकताविहीनताको चरम मिसाल” भन्दै दल फुटाउने, भ्रष्टाचारको आरोप खेप्ने र पदलोलुपताको आरोप लगाएका छन्।

थापाले लेखेका छन्, “२०६४ को चुनावमा पराजित हुँदा राजीनामा दिएका नेपालले आजचाहिँ अदालतमा मुद्दा दायर हुँदासमेत पदमा टाँसिरहनु अशोभनीय भएको छ।”

उनले ललिता निवास, धोबीखोला, इटहरी, विराटनगरदेखि काभ्रे (पतञ्जलि) जग्गा प्रकरणसम्म एकपछि अर्को भ्रष्टाचारको श्रृंखला सार्वजनिक भइरहँदा माधव नेपालको मौनता र कुर्सी मोहलाई कटाक्ष गरेका छन्।

“पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया रहिरहनु, पदका लागि नैतिकताको बलि”

सांसद थापाले माधव नेपालको विगतका केही निर्णयहरूप्रति पनि असहमति जनाएका छन्। उनले विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउने प्रस्ताव अस्वीकार गरेको प्रसंगदेखि रामचन्द्र पौडेललाई समर्थन गर्ने कदमसम्म स्मरण गर्दै भनेका छन्, “वाम राष्ट्रपति चाहने हामीजस्ता नेताहरूको भावना विपरित उहाँ अर्कै दिशामा उभिनुभयो।”

अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहँदा पनि दलको नेतृत्व नत्याग्ने नेपालको निर्णयलाई थापाले “भयानक स्खलन र पतन” भनेका छन्। स्थायी कमिटी सदस्यहरूले राजीनामा माग्दा पनि चुप लगाउन सर्कुलर निकाल्ने कदमलाई उनले लोकतान्त्रिक आचरणको अपमान भनेका छन्।

“उहाँले लगाएको कलंकको टीका, उहाँकै जीवनको सबभन्दा भारी बोझ हुनसक्छ”

सन्देशको अन्त्यमा थापाले नेपालको वर्तमान अवस्थालाई “नैतिकता र राजनीतिक मर्यादाको घोर पतन” को रूपमा चित्रण गर्दै लेखेका छन् –
“जीवनको उत्तरार्धमा कस्तो सुनिने र लेखिने भन्ने सम्बन्धित व्यक्तिले नै स्वघोषणा गर्नु उचित हुन्छ होला।”