१२ पुष २०८१, शुक्रबार

अर्थमन्त्रीको प्रश्न- आफैँ दर बढाउन प्रस्ताव गरेको छु, मैले नै सूचना चुहाउँदै हिँड्छु?


सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजश्वका दर वैज्ञानिक भएको दाबी गरेका छन् ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

त्यस्तै उनले विद्युतीय सवारी साधनमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा आम नागरिकलाई असर नगर्ने उल्लेख गरे ।

“यसमा कुनै पनि दायाँबायाँ गरिएको छैन”, उनले भने । विद्युतीय सवारी साधनमा करको दर सामान्य वृद्धि गर्न आफूले प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले प्रश्न गरे, “आफैँ दर बढाउन प्रस्ताव गरेको छु मैले नै सूचना चुहाउँदै हिँड्छु ? म व्यापारीको पक्षमा भए त त्यही दर राख्थेँ नि ।”

“विद्युतीय सवारीमा कर वृद्धि तथा प्याज, आलु र स्याउमा भ्याट लगाउँदा आम नागरिकलाई समस्या परेको भाष्य स्थापित गर्न खोजिएको छ, त्यो भ्रममा नपर्नु होला”, उनले भने, “विद्युतीय सवारीमा कर तर्कयुक्त ढङ्गले कायम गरेका हौँ, बढाएको होइन, कम क्षमताका सवारीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको हो ।”