७ पुष २०८१, आईतवार

मूलधारकै नेतृत्व गर्ने लक्ष्यका साथ आर्थिक पत्रकारितामा हाम्रो प्रवेश


एउटा बीट पत्रकारिताको रूपमा आजसम्म निसास्सिएर रहेको आर्थिक पत्रकारितालाई मूलधारको नेतृत्वमा पुर्याउने लक्ष्यका साथ हामी विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन यो विशाल सञ्चार जगतमा हाम्फालेका छौं ।

देशको अर्थ, राजनीतिसाथै अन्य धेरै आयाममा गहिरो संकुचन देखा परेको बेला ठूलो लक्ष्य लिएर सानो पाइला अघि बढाउनु पक्कै पनि चुनौतीपूर्ण काम हो । विशेष गरेर आर्थिक पत्रकारितालाई ‘बीट पत्रकारिता’बाट माथि उठाउने र देशको अर्थतन्त्रका सबै अवयवहरूमाथि स्वतन्त्र, निष्पक्ष र निर्मम ढंगबाट कलम चलाउने प्रयासको शुरुवात हामीले गरेका छौं ।

२००७ सालदेखि २०७२ सालको संविधान नबन्ने बेलासम्म देश चरम राजनीतिक अस्थीरतामा फँसेको थियो । त्यतिबेला राजनीतिक रूपमा मिसन पत्रकारिता हाबी रह्यो । संविधान बनेयता पनि अपेक्षित रूपमा राजनीतिक स्थीरता प्राप्त भएको त छैन, न त सबैले भन्ने गरेको आर्थिक समृद्धितर्फ सबै सरोकारवालाहरूबाट पाइला अगाडि बढेको छ ।

आजसम्म पनि सबै मूलधार मिडियाले राजनीतिलाई पहिलो प्राथमिकता दिएर समाचार सामग्री पस्किने चलन गएको छैन । यसै बीच खुलेका केही आर्थिक सञ्चारमाध्यमहरूमध्ये केही ठूला घरानियाँको स्वार्थमा चलेका छन् भने केही विज्ञप्तिकारितामा अल्झेको अवस्था छ ।

आर्थिक क्षेत्रलाई मूलधारको क्षेत्रको रूपमा विकास गर्न केही इमानदारीपूर्ण प्रयासहरू नभएका होइनन्, तर ती अपर्याप्त थिए र छन् । आज ५० लाख भन्दा बढी डीम्याट खाता खुलेका छन्, वाणिज्य बैंकहरूमा खुलेका एकाउन्टहरू नेपालको जनसंख्या भन्दा दोब्बर छन् । गाउँ-गाउँमा बैंकिङ प्रणाली पुगेको छ भने स्मार्ट फोनमार्फत हात-हातबाट दैनिक अर्बौंको कारोवार भइरहेका छन् ।

जसरी आर्थिक क्षेत्रमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ, सञ्चारमाध्यमहरूले त्यसको विकासक्रम भन्दा एक कदम अघि बढेर नीति निर्माण तहलाई नै झक्झक्याएर उपयुक्त नीतिको पैरवी गर्नुपर्दथ्यो । बरू अहिलेको अवस्थामा सञ्चार जगत समय भन्दा पछि हिँडिरहेको प्रतीत हुन्छ ।

यिनै व्यवसायीक र क्षमताजन्य कमजोरीका कारण आज सामाजिक सञ्जाललगायत कतिपय प्लेटफार्ममा पत्रकारिता र पत्रकारको आलोचना हुने गरेको छ । प्रत्येक राजनीतिक र आर्थिक परिवर्तनको साक्षी मात्र होइन, नेतृत्वकर्ताकै भूमिकामा रहेको नेपाली प्रेस जगत आज आलोचनाको केन्द्रमा आउन किन बाध्य भयो, त्यसको समीक्षा जरुरी रहेको हाम्रो ठम्याइ छ ।

अर्को कुरा, भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दी, कोभिड-१९ को प्रभाव र नीति निर्माणकर्ताहरूको अदूरदर्शीताका कारण नेपालको आर्थिक क्षेत्र अहिले सहज अवस्थामा छैन । निजी क्षेत्र थला परेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरू अप्ठेरो अवस्थामा छन् । अहिलेसम्मकै ठूलो आर्थिक मन्दी आउन सक्ने आशंकाका कारण आम जनता त्रासमा देखिन्छन् । आर्थिक वृद्धिदर घट्दो क्रममा छ ।

यी चुनौतीका बीच सत्य, निष्पक्ष र निर्मम समाचार लेख्ने पत्रकार र मिडिया हाउसको आवश्यकता खड्किएको महसुस हामीले गरेका छौं । हाम्रो सानो तर इमान्दार प्रयाससँग समस्त पाठक, शुभेच्छुक र विज्ञापनदाताहरूले पवित्र उद्देश्यका साथ सहकार्य गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं ।

हामी लोकतन्त्र, मानवाधिकार, पत्रकार आचारसंहिता र पत्रकारिताको विश्वव्यापी मान्यताबाट कदापी पछि हट्ने छैनौं । अन्जानमा हुने गल्ती कमजोरीको स्विकारोक्ति र तत्काल त्यसबाट सिकेर सच्चिने दिशामा अघि बढ्ने नै छौं । पाठकहरूलाई हामीले अनलाइनहरूको हूलमा फगत एक नयाँ अनलाइन थपिएको जस्तो खल्लो महसुस हुने खालको अवस्था आउन दिनेछैनौं ।

अन्त्यमा हामी फेरि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।