
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको खिचातानीले गञ्जागोल बनेको छ ।
यो विवादको केन्द्रमा छन् डा. गुणाकर भट्ट, जसलाई पूर्वगभर्नर महाप्रसाद अधिकारीको ‘जुनियर’ को संज्ञा दिँदै सेयर लगानीकर्ता, राष्ट्र बैंकका कर्मचारी र अर्थतन्त्रका जानकारहरूले तीव्र आलोचना गरिरहेका छन् ।
भट्टको सम्भावित नियुक्तिले केन्द्रीय बैंकको स्वायत्तता, मेरिट र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । उनको विगतको भूमिका र महाप्रसादको सल्लाहकारका रूपमा देखाएको कमजोरीले उनलाई गभर्नरका लागि अयोग्य ठहर्याउनेहरूको संख्या बढ्दो छ ।
महाप्रसाद अधिकारीको गभर्नर कार्यकाललाई धेरैले नेपाल राष्ट्र बैंकको इतिहासमा ‘कालो अध्याय’ का रूपमा लिन्छन् ।
उनले सेयर बजारलाई हतोत्साहित गर्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र लगानीकर्ताको मनोबल गिराउने नीतिहरू ल्याए ।
विशेषगरी, उनको क्रेडिट कन्ट्रोल नीतिले साना तथा मझौला व्यवसायीहरूलाई कर्जा प्राप्तिमा कठिनाइ उत्पन्न गरायो, जसले बजारमा तरलता संकट निम्त्यायो ।
उनले बैंक तथा वित्तीय संस्थाहरूलाई कडा नियामकीय व्यवस्था लागू गरे, तर यी व्यवस्था कुन बेला कडा गर्ने र कुन बेला खुकुलो पार्ने भन्नेमा राजनीतिक आस्था र व्यक्तिगत स्वार्थ हावी भएको आरोप लाग्छ । यस्ता नीतिहरूले सेयर बजारमा भारी गिरावट आयो, जसले लाखौं लगानीकर्ताको सम्पत्ति स्वाहा भयो ।
यी सबै गल्तीहरूमा डा. गुणाकर भट्टको मुख्य सल्लाहकारी भूमिका थियो, जसले उनलाई ‘महाप्रसादको जुनियर’ को उपमा दिलाएको छ ।
भट्टको सम्भावित गभर्नर नियुक्तिप्रति सेयर लगानीकर्ताहरूले तीव्र आपत्ति जनाएका छन् । उनीहरू भट्टलाई महाप्रसादको सक्कल नीतिहरूको दोस्रो संस्करण ठान्छन् ।
महाप्रसादको पालामा सेयर बजारलाई लक्षित गरी ल्याइएका कठोर नीतिहरू, जस्तै मार्जिन कर्जामा कडाइ र ब्याजदर वृद्धि, भट्टकै सल्लाहमा आधारित थिए ।
एक लगानीकर्ताले भने, ‘भट्ट गभर्नर बने भने सेयर बजारको बर्बादी निश्चित छ । उनले महाप्रसादलाई सेयर लगानीकर्ताको हितविपरीत नीति बनाउन उक्साएका थिए, अब उनैले गभर्नर बनेर त्यही गल्ती दोहोर्याउँछन् ।’
लगानीकर्ताहरूले भट्टको नियुक्ति रोक्न अदालतमा रिट दायर गरेको र यो रिटमा उनीहरूकै सक्रियता रहेको दाबीसमेत गरिएको छ ।
राष्ट्र बैंकभित्रै भट्टको नेतृत्व क्षमतामाथि गम्भीर शंका छ । उच्च अधिकारीहरूले उनलाई ‘एकेडेमिसियन’ को रूपमा तारिफ गरे पनि केन्द्रीय बैंक चलाउन आवश्यक दृढता, टिम व्यवस्थापन र निर्णायक क्षमता उनमा नभएको ठान्छन् ।
भट्टलाई महाप्रसादको ‘छायाँ’ का रूपमा हेरिन्छ, जसले स्वतन्त्र निर्णय गर्नेभन्दा पनि महाप्रसादको गलत नीतिहरूलाई निरन्तरता दिने सम्भावना छ ।
एक अधिकारीले भने, ‘महाप्रसादले राष्ट्र बैंकलाई प्रयोगशाला बनाए, भट्टले त्यही गल्ती दोहोर्याउने निश्चित छ । उनको कार्यशैलीले राष्ट्र बैंकको चेन अफ कमाण्ड बिग्रन्छ, वरिष्ठ कर्मचारीहरूको मनोबल गिर्छ ।’
भट्टको नियुक्तिले आफूभन्दा वरिष्ठ पाँच जना कर्मचारीलाई बाइपास गर्नुपर्ने अवस्था आउँछ, जसले संस्थाभित्र निराशा र अस्थिरता निम्त्याउँछ ।
भट्ट गभर्नर बनेमा महाप्रसादको गल्तीहरू दोहोरिने मात्र होइन, देश र जनताले त्योभन्दा ठूलो दुख भोग्नुपर्ने चिन्ता व्यक्त गरिएको छ ।
महाप्रसादको कार्यकालमा सेयर बजारको गिरावट, कर्जा संकट र ब्याजदर वृद्धिका कारण साना व्यवसायी, उद्यमी र सर्वसाधारणले ठूलो आर्थिक संकट भोगे ।
भट्टको नेतृत्वमा यस्ता नीतिहरूले निरन्तरता पाउने र अर्थतन्त्र थप कमजोर बन्ने जोखिम छ । उनको विगतको ट्र्याक रेकर्डले लगानीकर्ताको हितमा कुनै सकारात्मक कदम चाल्ने सम्भावना देखाउँदैन ।
बरु, उनले ल्याउने नीतिहरूले सेयर बजारलाई थप धराशायी बनाउने, कर्जा प्रवाहमा कठिनाइ बढाउने र समग्र अर्थतन्त्रलाई संकटमा धकेल्ने आशंका छ ।
पढ्नुहोस् यो पनि: