१२ पुष २०८१, शुक्रबार

अर्थमन्त्रीले भने– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ


काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी गरे।

आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताउँदै उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उल्लेख गरे। उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको बताए। अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबी गर्दै अर्थ मन्त्री महतले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए।

‘मैले पटकपटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलोपन ल्याउनुपर्छ भन्दै आएको थिएँ। मौद्रिक नीति खुकुलो आएको छ। अरु पनि केही पहल भएका छन्। त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ। ब्याजदर कम भएर जान्छ। लगानीको वातावरण सहज बनाउँछ,’ उनले भने।

अर्थमन्त्री महतले सुन ल्याएको सूचना दिनेलाई आफूले पुरस्कारको व्यवस्था गरेका कारण सय किलो सुन पक्राउ परेको दाबी समेत गरे। मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए।