काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ ।
मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ७३ करोड ७० लाख १४ हजार रुपैयाँको भयो ।
यसअघि आइतबार र सोमबार पनि सेयर बजार घटेको थियो । बजार घटेको भएपनि कारोबार रकम भने दुई अर्ब माथि थियो ।
मंगलबार कारोबारमा आएका २२२ कम्पनीमध्ये १९८ कम्पनीको मूल्य घट्यो भने २२ कम्पनीको मूल्यमा केही बृद्धि भयो । दुई कम्पनीको मूल्य भने स्थिर रह्यो ।
समग्रमा नेप्सेका सबै इन्डेक्स राताम्मे बने । सबैभन्दा धेरै बीमा क्षेत्रमा गिरावट आयो भने यसअघि केही सुधारका संकेत देखिएका वाणिज्य बैंक र विकास बैंकमा पनि उच्च अंकको गिरावट आयो ।
उच्च अंककाले बजार घट्दा पनि स्वरोजगार लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिपब्लीका मिडियाको मूल्यमा पनि ९.९७ अंकले बढोत्तरी आएको छ । यस्तै, पिपुल्स हाइड्रो, एनआइबिएल प्रगति फण्ड, सपोर्ट माइक्रो फाइनान्सलगायतको मूल्यमा केही बृद्धि भएको छ ।
मंगलबार सबैभन्दा बढी आइएमइ लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एभरेष्ट बैंक लिमिटेडलगायतका कम्पनीको सेयर कारोबार उच्च रह्यो ।