नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल कमिसन शुल्क घटाउन तयारी सुरू गरेको छ । चालू आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा लैजानका लागि बोर्डले तयारी थालेको हो ।
बोर्डले नीतिमा धितोपत्र दलाल व्यवसायीको मध्यस्थता शुल्क पुनरावलोकन गर्ने घोषणा गरेको थियो । सोही घोषणालाई मूर्त रूप दिनका लागि अहिले अध्ययन भइरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।
सो व्यवस्थाअनुसार, सेयर ब्रोकर कम्पनीले लिने तल्लो सीमा खारेज गर्दै बोर्डले माथिल्लो सीमासमेत घटाउन लागेको हो ।
धितोपत्र दलाल व्यवसायी शुल्क पुनरावलोकन गर्न बोर्डले अहिले अध्ययन गरिरहेको बोर्डका अध्यक्ष हमालले जानकारी दिए । उनका अनुसार, अध्ययन जतिसक्दो चाँडो सकेर ब्रोकर शुल्क समयसान्दर्भिक हुने गरि समायोजन गरिनेछ ।
बोर्डले २०७७ पुस १० देखि बोकरले लिने कमिसनमा ०.२७ देखि ०.४ प्रतिशतसम्म बनाइएको थियो । त्यसअघि ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म ब्रोकरले कमिसन लिन पाउँथे ।
सो व्यवस्था अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ ।
यस्तै ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
अब बोर्डले माथिल्लो सीमा घटाएर तल्लो सीमा हटाउने र समयसान्दर्भिक कमिसन बनाउन लागिएको अध्यक्ष हमालले बताए ।
चालू आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा बोर्डले धितोपत्र दलाल व्यवसायीको मध्यस्थता शुल्क पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
सोही नीतिलाई कार्यान्वयनका लागि अहिले तयारी तीव्र बनाइएको अध्यक्ष हमालले जानकारी दिए ।
‘बोर्डको नीतिमा नै राखेर ब्रोकर कमिसन शुल्क समयसान्दर्भिक हुने गरि पुनरावलोकन गर्न लागेका हौँ,’ अध्यक्ष हमालले भने । उनका अनुसार, अहिले यसका लागि बोर्डले अध्ययन गरिरहेको छ । अध्ययन टुंगिएपश्चात यस नीतिलाई कार्यान्वयनमा लगिने तयारी भइरहेको उनी बताउँछन् ।
अध्यक्ष हमालले प्रतिष्पर्धालाई निष्पक्ष बनाउनका लागि कमिसन शुल्क समायोजन गर्न खोजिएको बताए । ‘प्रतिष्पर्धा निष्पक्ष बनाउनु हाम्रो उद्देश्य हो । यसले जनताको लागत घट्छ ।’
अन्य मुलुकमा पनि ब्रोकर शुल्कको तल्लो सीमा खुला हुने उनले बताए । बोर्डले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत ध्यानमा राखेर शुल्क समायोजन गर्न लागेको उनी बताउँछन् ।
विभिन्न मुलुकमा निकै कम शुल्कमा सेयर कारोबार हुने गरेको सुनाउँदै उनले नेपालमा पनि यस्तो अवस्था आउँदा बजार खुला हुने र ग्राहकले रोजाइको ब्रोकर छान्न सक्ने उनको भनाइ छ ।
उनले ब्रोकरको कमिसन शुल्क घटाएपछि ब्रोकरहरूबीच प्रतिष्पर्धा हुने र यसले लगानीकर्तालाई फाइदा हुने बताए ।
‘गुणस्तरीय सेवा कम शुल्कमा दिने कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्छ, यसले कम्पनीको व्यवसाय फस्टाउनुका साथै लगानीकर्ताले समेत कम लागतमा सेवा पाउँछन् भन्ने विश्वास छ,’ अध्यक्ष हमालले भने ।
कमिसन शुल्क समायोजनबाट समग्र प्रणालीलाई फाइदा पुग्ने उनको भनाइ छ ।