नेपाल बिमा प्राधिकरणले गत मंसिरमा लाइसेन्स दिएका तीनमध्ये दुई माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख पाँच हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । अर्को एक इन्स्योरेन्सको तथ्यांक सार्वजनिक भएको छैन ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले कुल बिमा शुल्क दुई लाख पाँच हजार रुपैयाँ आर्जन गरेका हुन् ।
मंसिरदेखि असार मसान्तसम्म गार्डियन माइक्रो लाइफले एक लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ भने क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ आर्जन गरेको छ । यी दुई कम्पनीले २१९ बिमालेख बिक्री गरेका छन् । गार्डियनले १२७ र क्रेष्टले ९२ बिमालेख बिक्री गरेको छ ।
प्राधिकरणले जीवनबिमातर्फ तीन माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो । विराटनगरमा केन्द्रीय कार्यालय राख्ने गरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफलाई सुर्खेतको वीरेन्द्रनगर केन्द्रीय कार्यालय राख्ने गरी र लिबर्टी माइक्रो लाइफलाई पोखरामा केन्द्रीय कार्यालय खोल्न लाइसेन्स दिएको थियो ।