१४ पुष २०८१, आईतवार

सात महिनामा दुई ‘माइक्रो लाइफ’ले आर्जन गरे दुई लाख बिमा शुल्क


नेपाल बिमा प्राधिकरणले गत मंसिरमा लाइसेन्स दिएका तीनमध्ये दुई माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख पाँच हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । अर्को एक इन्स्योरेन्सको तथ्यांक सार्वजनिक भएको छैन ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले कुल बिमा शुल्क दुई लाख पाँच हजार रुपैयाँ आर्जन गरेका हुन् ।

मंसिरदेखि असार मसान्तसम्म गार्डियन माइक्रो लाइफले एक लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ भने क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ आर्जन गरेको छ । यी दुई कम्पनीले २१९ बिमालेख बिक्री गरेका छन् । गार्डियनले १२७ र क्रेष्टले ९२ बिमालेख बिक्री गरेको छ ।

प्राधिकरणले जीवनबिमातर्फ तीन माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो । विराटनगरमा केन्द्रीय कार्यालय राख्ने गरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफलाई सुर्खेतको वीरेन्द्रनगर केन्द्रीय कार्यालय राख्ने गरी र लिबर्टी माइक्रो लाइफलाई पोखरामा केन्द्रीय कार्यालय खोल्न लाइसेन्स दिएको थियो ।