१४ पुष २०८१, आईतवार

खानी खोजतलास गर्न ४ सयभन्दा बढी कम्पनीले पाए अनुमति


मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय भन्दा बढी कम्पनीले अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।

फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।

गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए । “अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा छन्”, सूचना अधिकारी बाँस्कोटा भन्छन् ।

यस्तै, विभागले हालसम्म एक सय ५८ कम्पनीलाई खानी उत्खनन्का लागि अनुमतिपत्र प्रदान गरेको छ । गत वर्षसम्म एक सय ४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९/८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो ।

खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै रहेका छन् ।