नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् ।
वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नदोहोर्याउने निर्णय गरेको बैंक स्रोतले बताएको छ ।
नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् ।
अधिकारी बाहिरिएपछि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।
विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।